कतारमा एकैदिन ५ हजार २ सय ३५ जना डिस्चार्ज, निको हुने अधिकांश नेपाली

काठमाडौँ :  कतारमा शनिबार मात्रै ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा अधिकांश नेपाली कामदार छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार यो निको हुनेको यो संख्या हालसम्म कै उच्च संख्या हो । संक्रमितमध्ये १९ देखि ४० वर्षका युवा कामदार रहेकोले निको हुनेको संख्या पनि उच्च देखिएको हो । कतारमा हालसम्म २५ हजार ८ सय ३९ जनालाई निको भइसकेको छ ।

‘क्‍वारेन्टाइनमा बसेको ४० दिनपछि निस्कन पाए । दुईपटकको परीक्षण गर्दा नेगेटिभ आयो । क्‍वारेन्टाइनबाट निस्केर गाडीमा राखिएको थियो । म बसेको गाडीमा सबैजना नेपाली थिए,’ बाग्लुङका ३४ वर्षीय एक नेपालीले भने,‘कोरोनालाई जितेर निस्कदा सबैजना उत्साहित देखिन्थे । हामीलाई युद्ध मैदानबाट घर फर्केको जस्तो लागेको छ ।’

निको भएर निस्केकालाई १५ दिनसम्म क्याम्पमै बस्न समेत निर्देशन दिइएको उनले बताए । ‘यताउता नजानु भनेको छ । कसैलाई नभेट्नु भनेको छ । दुई हप्ता कम्पनीकै क्याम्पमै बस्नेछु,’ उनले भने । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।


प्रकाशित | १८ जेष्ठ २०७७, आईतवार ०८:०८