प्रदेश २ मा ५७ जना नयाँ सङ्क्रमित थपिए, २० हजार बढी क्वारेन्टाइनमा

काठमाडौँ :   प्रदेश २ मा ५७ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट पछिल्लो चौबिस घण्टामा ५७ जना नयाँ सङ्क्रमित थपिएसँगै प्रदेश २ मा कुल सङ्क्रमितको सङ्ख्या ५५४ पुगेको छ ।

प्रदेश २ ले दैनिक रुपमा गर्ने पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले शनिबारसम्म प्रदेशभरि १२ हजार ५६६ जनाको स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँले ५५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । नौ हजार ९०९ जनाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कोरोनाको सङ्क्रमण नदेखिएको सचिव घिमिरेले बताउनुभयो । दुई हजार १०३ जनाको स्वास्थ्य प्रतिवेदन आउन बाँकी रहेको छ । शनिबार मात्रै ९४० जनाको स्वाब सङ्कलन गरिएको छ । मन्त्रालयका अनुसार सप्तरीमा नौ जना, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, सर्लाहीमा १७, रौतहटमा छ, बारामा एक र पर्सामा दुई जना नयाँ सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले दिएको जानकारी बमोजिम प्रदेश २ को रौतहटमा सबैभन्दा बढी सङ्क्रमित छन्। रौतहटमा १४१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । सबैजनालाई रौतहटको गौर, देवाही गोनाही र गरुडासहितका स्थानमा रहेको आइसोलेसन वार्डसहितको अस्पतालमा भर्ना गरिएको छ ।

सप्तरीमा २४ जना, सिरहामा १४ जना, धनुषामा २९ जना, महोत्तरीमा १९ जना, सर्लाहीमा २३ जना, रौतहटमा १४१, बारामा ५० र पर्साको १० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । सबैजनालाई आइसोलेसनमा राखिएको सचिव घिमिरेले जानकारी दिनुभएको छ । प्रदेश २ मा हालसम्म ९८ जना निको भई घर फर्केका छन् ।

प्रदेश २ मा ३७१ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । २५ हजार ३२२ शय्या क्षमताको क्वारेन्टाइनमा २० हजार ९३३ जना अलग्गिएका छन् । मन्त्रालयका अनुसार ७४७ जना आशङ्कित आइसोलेसनमा छन् । १२ हजार ५६६ जना होम क्वारेन्टाइनमा छन् । स्रोत- गोरखापत्र अनलाइन


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार १८:१६