शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं:  नेपालमा आज (शनिबार ) एकै दिन १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमीतको कुल संख्या १ हजार ४ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटले नियमित कोरोना ब्रिफिङका क्रममा देशका विभिन्न स्थानमा प्रयोगशालामा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र सिराहा ११ जना छन्।

यसैगरी रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनाको पोजेटिभ रिपोर्ट आएको छ। उनीहरू कपिलवस्तुका हुन्। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन्।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्।

विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू दुवै जना संखुवासभाका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ६ जनाको भने मृत्यु भइसहेको छ।


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार १७:३५