१३०० मेगावाट बिजुली थपिने, ऊर्जा क्षेत्रमा ३६ अर्ब १ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले आगामी वर्ष १ हजार ३०० मेगावाट बिजुली थप गर्ने लक्ष्य लिएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युतलगायत निजी क्षेत्रका आयोजना सम्पन्न गरेर बिजुली थप गर्ने लक्ष्य सरकारले लिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि विद्युत निर्यात गर्न सक्ने गरी जलासय र जलासययुक्त आयोजना बनाइने बताउनुभयो । आगामी वर्ष विद्युतको जडित क्षमता ३ हजार मेगावाट पुर्याइने लक्ष्य छ ।

६३५ मेगावाटको दुधकोसी आयोजना नेपाल विद्युत प्राधिकरणको एकल पुँजीमा निर्माण सुरु गर्ने खतिवडाले बताउनुभयो । माथिल्लो अरुणलागयत ठुला आयोजना निर्माण थाल्ने तयारी सरकारको छ ।

यसैगरी विद्युत आयोजना र प्रसारणलाइन संरचना बनाउन आगामी वर्षका लागि ३६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १८:२३