कोरोना परीक्षणको दायरा फराकिलो बनाइँदै, हालसम्म १ लाख ५८ हजार ५ सय ५९ जनाको परीक्षण

काठमाडौं : कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म १ लाख ५८ हजार ५ सय ५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५८ हजार २ सय ७२ जनाको पिसिआर र १ लाख २ सय ८७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताउनुभयो ।

कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। जसमध्ये ७ सय ९६ पुरुष र ९० जना महिला छन्। प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, बागमतिमा ३९, गण्डकीमा १३, प्रदेश ५ मा ३ सय ६५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हालसम्म १ सय ८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको छ।

मुलुकभर हाल ६ सय ९९ जना अस्पतालको आईसोलेसनमा छन् भने ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाको संक्रमणबाट हाल ४७ जिल्ला प्रभावित छन्।


प्रकाशित | १४ जेष्ठ २०७७, बुधबार १७:१०