भक्तपुरको विकासले उचाई चुम्यो : सांसद महेश बस्नेत

भक्तपुर : नेकपाका युवा नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले भक्तपुरको विकासले नयाँ गुणस्तरिय उचाई चुमेको बताउनुभएको छ । निर्वाचनमा समयमा ब्यक्त अधिकांश प्रतिबद्धता धमाधम पूरा भइरहेको भन्दै सांसद बस्नेतले भक्तपुरले विकासको उचाई चुमेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको शहरी हरित पार्क नगरपालिकालाई हस्तान्तरण गर्दै सांसद बस्नेतले निर्वाचनको समयमा जनताको घरघरमा जाँदा मुख्यगरी सडक, ढल तथा खानेपानीको माग राखिएकोमा अहिले आएर पूरा भइरहेकोमा खुसी समेत ब्यक्त गर्नुभयो ।

उहाँले पार्क, हरियाली तथा वृक्षारोपणका मागहरु खासै नहुने गरेता पनि अहिले भक्तपुरमा भौतिक विकासको साथ साथै फरक ढंगले स्वच्छ वातावरण, पर्यटकीय गन्तव्य, सौन्दर्यता, हरित नगरलगायतका कार्यहरु हुँदै गएको उल्लेख गर्नुभयो ।

ठिमी एरियामा मात्र चारवटा पुलहरु बन्ने क्रममा रहेको उल्लेख गर्दै सांसद बस्नेतले शंखधर चोकबाट गाम्चाहुँदै तर्खगाल जाने सडक बनिरहेको, दक्षिणबाराहीबाट ल कलेजहुँदै पानी ट्याङ्की जाने सडक बनिसकेको, मध्यपुर अस्पताल हुँदै शंखर स्कुल अगाडि हुँदै जाने सडक बनिसकेको, दक्षिण बाराहीबाट बालकोट जाने सडक यो वर्ष केन्द्रीय योजनामा पर्न सफल भएकोलगायतका जानकारी गराउनुभयो ।

अब भक्तपुरमा प्राकृतिक संरक्षणका कार्यहरु समेत व्यापक मात्रामा हुँदै जाने उहाँले उल्लेख गर्नुभयो । उहाँले बजेटका औचित्यता माथि प्रश्न चिन्ह खडा हुनु नहुने भन्दै उहाँले दुबो तथा प्राकृतिक कुराहरु नगरपालिकाले गंभिरताका साथ संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित | २३ असार २०७७, मंगलवार ०८:४७