यू-१९ विश्वकप छनोट: नेपालको सहज जितमा नायक ३ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) : नेपालले आईसीसी यू -१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि ८ विकेटको सहज जित हात पारेको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । त्यस अघि नेपालको कसिलो बलिङमा मलेसिया ३३।५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो । मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेपनि दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित हुन पुग्दा नेपालको अघिल्लो चरणको यात्रा कठिन बन्न पुगेको छ । यूएईको बाँकी नतिजा नेपाल अनुकुल आएमा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ । आजको खेलमा मलेसियामाथि सहज जित दिलाउन यी ३ नेपाली खेलाडीले उत्कृष्ट प्रर्दशन गरे ।

रित गौतम

ओपनर रित गौतमले ४५ बलमा ५ चौका सहित ३९ रनमा नटआउट रहे । जसको कारण नेपाल १३ ओभरमै खेल जित्न सफल भयो । यो जितले नेपाललाई नेट रनरेटमा ठूलो फाईदा पुग्ने छ । गौतमले एक तर्फबाट डबल सिंगल रन बटुलिरहँदा अर्को तर्फबाट पवन सरार्फ र आशिफ शेखले आक्रमक खेल्दै सहजै जिताउन सफल भए ।

कुशल मल्ल

मलेसियालाई सस्तैमा रोक्न कुशल मल्लले उत्कृष्ट बलिङ गरे । मलेसियाको मिडिल अडर धरासय बनाउने क्रममा सर्वाधिक ३७ रन बनाई खेली रहेका ड्यानियल फिक्रीलाई २१ औं ओभरको चौथो बलमा सन्दीप जोराबाट क्याच आउट गराउदै पेभिलिएन फर्काए । ड्यानियल आउट भएसँगै मलेसियाको निरन्तर विकेट गुमि रह्यो ।

त्यस अघि मिडिल अडरका विजय उन्नीलाई १७ ओभरको अन्तिम बलमा ४ रनमा एलवी डब्लू आउट गरे । मल्लले २९ ओभरको पहिलो बलमा अमीरुल सयाहीलाई १ रनमा आउट गरेपछि मलेसिया सस्तैमा समेटिएको हो । कसिलो बलिङ गर्ने क्रममा मल्लले सम्रगमा ८ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए ।

पवन सरार्फ

राष्ट्रिय टोलीबाट खेलि सकेका सरार्फले सहज जित दिलाउन उत्कृष्ट अलराउण्डर प्रर्दशन गरे । सरार्फ आजको खेलमा म्याच अफ द म्याच समेत चुनिए । मलेसियाको मिडिल अडरलाई पेभिलिएन फर्काएका सरार्फले कप्तान मोहम्मद आमिरलाई १३ ओभरको पहिलो बलमा १३ रनमा बोल्ड आउट गरे । कप्तान आउट भएसँगै मलेसियाको विकेट गुमि रह्यो । त्यस्तै विकेटकीपर हमिल हरिसनलाई १० रनमा आउट गरे । तल्लोक्रमका स्युक्री मादेलीलाई १ रनमा आउट गरेपछि मलेसिया सस्तैमा समेटियो । नेपाललाई १३ ओभरभित्र खेल जिताउन सरार्फले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रनमा आउट भए । घातक बलिङ गर्ने क्रममा सरार्फले ८।५ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार २०:०५