मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि रामनवमी पर्व मनाईदै

काठमाडौँ । आज मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि रामनवमी पर्व मनाईदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।

असत्यमाथि सत्यको विजयको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको मानिन्छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर, पशुपति आर्यघाटमा रहेको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने गरेको छ ।

सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।


प्रकाशित | २७ चैत्र २०७८, आईतवार ०८:२५