सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको कांग्रेसको निस्कर्ष

काठमाडौं: नेपाली कांग्रेस वर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको निस्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको वर्तमान सरकारले जनपेक्षा अनुसार काम नसकेको निस्कर्ष निकाल्दै विगतका असफलताबाट पाठ सिकेर जिम्मेवार बन्न सरकरालाई सुझाव समेत दिएको छ ।

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रतिको पछिल्लो धारणा सार्वजनीक गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जिम्मेवार अभिव्यक्ति र व्यवहार साथ जिम्मेवार ढंगले सरकारको नेतृत्व गर्न नसकेको नसकेको बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, ‘२०७५ सालमा सरकारले काम गर्न नसके पनि अब छोटो समयमै प्रशस्त कार्य गर्ने अपेक्षा गरेको छौ ।’

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभिन्न सात बुँदामा सरकारको ध्यानर्कषण गराइएको छ । जसले कांग्रेसले बुढी गण्डकी परियोजना विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई स्वयं प्रधानमन्त्रीले सुम्पनु राष्ट्रघात र भ्रष्टाचार किन होइन भन्दै प्रश्न समेत गरेको छ। वुद्धिजीवीलाई थला पार्ने चेतावनी दिनु, विपक्षी दललाई नन्दीभृङ्गीको संज्ञा दिनु प्रधानमन्त्रीका आपत्तिजनक अभिव्यक्ति भएको भन्दै कांग्रेस भत्र्सनासमेत गरेको छ।

त्यस्तै, पत्रकार वाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित बजेट प्रवन्ध हुन नसकेको र केही प्रदेशहरुको नामाकरण र राजधानीको टुंगो समेत लगाउन नसकेको कांग्रेसले जनाएको छ। यस्तै संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयास गरिएको जनाएको छ । यस्तै संविधानले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिको परिकल्पना नगरेको अवस्थामा सरकारले संवैधानिक परिषद्लाई कार्यपालिका झै एक पक्षीय बनाउने दुस्प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १९:४८