तामाकाेशी आयोजना अन्तिम चरणमा : चुनाैतिपूर्ण मानिएकाे ३७३ मिटरको भर्टिकल पाईप राख्न सफल

कैलाश लामा /चरिकोट 

दोलखाको विगु गाउँपालिका –१ स्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कोरोना भाइरसको प्रकोपले खासै प्रभाव परेको छैन ।

बाँधलगायत हेड वर्कसको प्राविधिक परीक्षण गरिसकेका माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाईरसको प्रकोपले खासै प्रभाव पारेको छैन । त्यहाँ भाइरसबाट बच्ने उच्च सतर्कता र सावधानी अपनाएर काम भइरहेको छ ।

यसैबीच, आयोजनाकै निकै महत्वपूर्ण र जटिल मानिएको ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा पेनस्टक पाईप राख्ने काम हालै सम्पन्न भएको छ ।

अष्ट्रियन कम्पनी एन्ड्रिजले शनिबार विहान ४ बजे अन्तिम डेढ मिटरको पेनस्टक पाईप भर्टिकल साफ्टमा झारेसंगै तल्लो भर्टिकल साफ्टको काम सम्पन्न भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तल्लो भर्टिकल साफ्टमा ७३ वटा पाँच मिटरको पाईप र अन्तिममा डेढ मिटरको पेनस्टक पाईप जडान गरिएको छ । यो संगै तामाकोशी आयोजनाको उत्पादन मिति नजिकिएको छ ।

त्यसैगरी, भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा २४६ मिटर पेनस्टक पाइप जडन गरिसको छ भने बाकि रहेको ६४ मिटर पाईप जडान असारको पहिलो हप्तामा सकिने गरि काम भैरहेको प्रवक्ता डा. न्यौपानेले बताउनुभयो ।

सबैभन्दा कठिन मानिएको यी सुरुङहरुमा पेनस्टक पाइप राख्ने कामले गति लिन नसक्दा तामाकशी आयोजनाको उत्पादन मति समेत पटकपटक पछि धकेलिएको थियो ।

करिब पाँच महिनाको प्रयासपछि २०७६ साल असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न आयोजना सफल भएको थियो । पाँच मिटर लम्बाइ र २७ टन तौल सम्मका पेनस्टक पाइपलाई ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गर्दै आएको छ ।

आयोजनामा मुख्य कामदार तथा प्राविधिकहरु चिनिया, इटलियन, भारतिय र नेपाली नागरिकहरु रहेको र उनीहरु कोरोनाको समस्या हुनु अघिदेखिनै निरन्तर आयोजनाको काममानै रहेकाले कोरोना भाइरसको संक्रमणले समस्या नभएको प्रवक्ता न्यौपाने बताउनुहुन्छ ।

हाल आयोजनमा चार सय भन्दा बढि कामदार तथा कर्मचारीहरुले काम गरिरहेका छन् । चाइनिज कम्पनी सिनो हाइड्रोले सिभिल, अष्ट्रियन कम्पनी एन्ड्रिजले इलेक्ट्रो मेकानिकल, भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले हाइड्रोमेकानिकल र अर्का भारतीय कम्पनी केईसीले सबस्टेशन तथा प्रसारण लाईनको काम गर्दै आएका छन् ।

स्वदेशी लगानीमा निर्माण भएको आयोजनामा समग्रमा ९९ दशमलब ५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने आयोजनाको मुख्य सुरुङमा कङक्रिट लाइनिङङको काम करिब सम्पन्न भएको र हाल यसै सुरुङको आवश्यक ठाउँहरुमा केमिकल ग्राउटिङको काम भैरहेको छ ।

पिकिङ रन अफ रिभरको ढाचामा निर्माण हुने यस आयोजनाको विद्युतगृह, प्रसारण लाइन, लगाएतका काम सम्पन्न भइसकेको उल्लेख गर्दै प्रवक्ता डाक्टर न्यौपानेले साउन अन्तिमसम्म सबै पाइपहरुको जडान कार्य सकेर पाइपहरुमा प्रेसर टेष्ट सुरु गर्ने र त्यसपछि सुरुङमा वाटर रन गरी परीक्षण गर्दै पहिलो युनिट विद्युत उत्पादन गर्ने बताउनुभयो ।

वि.सं.२०६७ भाद्र १७ गतेबाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजना ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिदा हुने व्याज, प्रशासनिक खर्च लगायतका कारण व्याजसहित ४९ अरबको अनुमानित लागत बढेर ब्याजसहित ७२ अरब पुग्ने अनुमान छ ।

दोलखाको विगु गाउँपालिका –१ मा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाको लामाबगरस्थित वाँध क्षेत्र ।

स्रोत -गोरखापत्र अनलाइन


प्रकाशित | ११ जेष्ठ २०७७, आईतवार १८:०५