फ्रान्समा लकडाउन खुलेसँगै संयुक्त समितीद्धारा राहत वितरण अभियान समाप्त भएको घोषणा

पेरिस (फान्स ) : कोभिड १९ संयुक्त सहयोग समिति फ्रान्सले अहिलेको अवस्थामा सहयोगको लागि कुनै अनुरोध नआएको र लकडाउन पनि खुलिसकेको अवस्थालाई मध्यनजर गरि राहत वितरण अभियान समाप्त भएको जानकारी गराएको छ ।

संयुक्त सहयोग समितिले ९२ जना विद्यार्थीरुलाई ७५ युरोको दरले कुल ६ हजार ९०० युरो र कागजी प्रक्रियामा रहनु हुने ८ जनालाई १०० को दरले कुल ८०० गरि जम्मा ७ हजार ७०० युरो सहयोग गरेको उल्लेख गरिएको छ ।

विश्व आक्रान्त पारेको (कोबिड(१९) कोरोना भाइरसको महामारीले निम्ताएको समस्याले फ्रान्समा रहनुभएका नेपालीहरुलाई आइपरेको विभिन्न समस्याहरुलाई समाधान र सहयोग गर्ने उदेश्यले नेपाली दुतावास फ्रान्सको संरक्षकत्वमा र फ्रान्समा सक्रिय १२ संघसंस्था मिलेर कोभिड १९ संयुक्त सहयोग समिति, फ्रान्स गठन भएको थियो ।

समिति गठन पश्चात समस्यामा परेकारुको तथ्यांक संकलन गरि राहत तथा आर्थिक सहयोग गरिएको थियो । गत हप्ता समितिले आर्थिक सहयोगको सम्पुर्ण कार्यक्रमलाई स्थगन गरि खाद्यान्न लगायत अन्य राहतको निरन्तरता सम्बन्धि सुचना समेत निकालेको थियो ।

अहिले फ्रान्स सरकारले लागु गरेको लकडाउनको नियम गत १२ मे देखि खुला गरिसकेको र बिस्तारै जनजीवन सामान्य तर्फ जाने बाताबरण बन्दै गएको देखिन्छ ।

फ्रान्समा क्रियाशील १२ ओटा संघ संस्थाहरुको यस संयुक्त अभियानलाई सार्थक बनाउन धेरै सहयोगी हातहरु रहेको भन्दै सबैप्रति धन्यवाद प्रकट गरिएको छ ।

संयुक्त सहयोग समितिमा एनआरएनए फ्रान्स, प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति फ्रान्स, तमु समाज फ्रान्स,नेपाली संस्कृतिक गृह, इनास फ्रान्स, पाकोफेन नेपाल, म्याग्दी समाज ( मोना फ्रान्स), तामांग घेदुङ्ग फ्रान्स, नेपाली रक्तदाता संघ फ्रान्स,
गोर्खा बोइज फ्रान्स, एभेरेष्ट नेपाल एसोसिएसन रहेका थिए ।


प्रकाशित | ११ जेष्ठ २०७७, आईतवार १५:०८