बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि, मृतक संख्या ३ पुग्यो

काठमाडौं- बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयद्वारा जारी सूचना अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण भई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुषको निधन भएको हो।

अस्पतालका अनुसार उनको आज बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो। एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिई आएका उनलाई सर्वप्रथम डाइग्नोसिस सेप्सिस विथ एमओडिएस (मल्टी अर्गान डिस्फंसन सिन्ड्रोम) भई उपचार अगाडि बढाइएको थियो।

कोरोना संक्रमणको स्क्रिनिङका लागि पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक एक २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो। उनी वैशाख २३ मा काठमाडौंस्थित शिक्षण अस्पताल भर्ना भएर २४ गते बच्चा जन्माई २५ गते आफ्नै घर सिन्धुपाल्चोकको बाह्रबिसे पुगेकी थिइन्। तर, त्यसपछि शारीरिक समस्या देखिएपछि उनी स्थानीय अस्पतालमा उपचार गराउन गएकी थिइन्। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धुलिखेल अस्पताल ल्याउँदै गर्दा जेठ १ गते मृत्यु भएको थियो।

उनको कोरोना संक्रमणपछि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३ गते मात्रै पुष्टि गरेको थियो।  बाँके नरैनापुर-५ का २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

कोरोना संक्रमणपछि भएको दोस्रो मृत्यु भने बाँकेका एक युवाको भएको थियो। उनलाई जेठ ३ गते रातिदेखि ज्वरो आउने र झाडापखलाको समस्या देखिएको थियो। ४ गते बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो।

३० गते भारतबाट नेपाल आएका उनी नरैनापुर गाउँपालिका-५ स्थित भोज भगवानपुरस्थित क्वारेन्टाइनमा बसिरहेका थिए।

उनको पनि मृत्युपछि नै कोरोना संक्रमण पुष्टि भएको थियो। मृत्युपछि ४ गते दिउँसो भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनमा कोभिड-१९ पुष्टि भएको थियो। पछि स्वास्थ्य मन्त्रालयले उनको संक्रमणबाटै मृत्यु भएको पुष्टि गरेको थियो।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार १३:५१