बेलायतमा मृतक संख्या ओरालो लाग्दै, २४ घण्टामा ३ सय ६३ को मृत्यु

लण्डन:  कोरोना भाइरस संक्रमणबाट बेलायतमा भइरहेका दैनिक मृत्युको संख्या निरन्तर घट्दै गइरहेको छ । यसैक्रममा पछिल्लो एक दिनमा ३ सय ६३ जनाको मृत्यु भएको छ । यसअघि विकेण्डमा मृत्युको संख्या न्यून हुंदै आएपनि साताको अन्य दिनमा पनि अब मृतक संख्या घट्न थालेको हो ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार हालसम्म देशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार ७ सय ४ पुगेको छ ।

बुधबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा सरकारका सांस्कृति मन्त्री ओलिभर डाउडेनले पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार २ सय १६ परीक्षण गराइएको जानकारी दिए । एक दिनको अवधिमा भएका परीक्षणको संख्या यो नै अहिलेसम्मको सर्वाधिक हो ।

यसैबीच, बेलायतमा संक्रमणका नयाँ केसहरु पनि पछिल्लो दिनमा घट्दै गएको जनाइएको छ । ‘एनएचएस इंग्ल्याण्ड’ का मेडिकल निर्देशक स्टेफन पाविसले परीक्षणको संख्या बढाइएको अनुपातमा संक्रमण नबढेको स्पष्ट पारे ।

साथै, अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको संख्या मार्चयता पहिलोपटक १० हजारभन्दा तल झरेको उनले बताए ।

अस्पतालमा कोभिड बिरामीको चाप घटेपछि अब अर्को सातादेखि एनएचएसले आफ्ना अन्य सेवाहरु पनि सञ्चालन गर्न शुरु गर्ने बताइएको छ ।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार ०८:३१