नेपालमा खोप लगाउनेको संख्या ८८ हजार पुग्यो, चीनले पनि तीन लाख खोप उपलब्ध गराउँदै

काठमाडौँ। चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख खोप चाडैँ उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा अनुदानस्वरुप सो खोप उपलब्ध गराउन लागेको हो ।

नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडो भन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

त्यस्तै, नेपालमाकोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप पाँचौँ दिनमा ८८ हजार सात व्यक्तिले लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको हो।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।


प्रकाशित | १९ माघ २०७७, सोमबार ०६:०९