नेपालमा थप २५ जनामा कोरोना संक्रमण, कुल संख्या ४२७, उपचारपछि निको हुने ४५ पुगे

काठमाडौं : नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो।

आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्। यी मध्ये बाँकेको नरैनापुरका ६ जना पुरुष छन् भने घनकुटाका ५ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताउनुभयो । यस्तै कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिममा १ जना कोरोना संक्रमित भेटिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्।  नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।


प्रकाशित | ७ जेष्ठ २०७७, बुधबार १७:१६