चीनले भन्यो -कालापानी नेपाल र भारतबीचको मुद्दा हो

काठमाडौं:  चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राख्नुभएको हो ।

प्रवक्ता लिजानले भारत र नेपालले मैत्रीपूर्ण सल्लाहका आधारमा कालापानीको समस्या समाधान गर्ने र एकपक्षीय कार्यले अवस्था असहज बनाउने हुनाले त्यसबाट सचेत हुनुपर्ने धारणा राख्नुभयो । भारतले कालापानीमा सडक निर्माण गरेको र भारतीय सेनाध्यक्ष एम एम नरवणेको तेस्रो पक्षको उक्साहटमा नेपालले कालापानीको मुद्दा उचालेको सन्दर्भमा राखिएको जिज्ञासामा उहाँले चीनको धारणा प्रष्ट्याउनुभयो ।

भारतले कालापानीमा सडक निर्माण गरेपछि नेपालले कुटनीतिक नोट पठाएर उक्त कदमको विरोध गरेको छ । लगत्तै भारतीय सेनाध्यक्ष नरवणेले नेपालले तेस्रो पक्षको उक्साहटमा कालापानीको मुद्दा उचालेको दाबी गर्नुभएको थियो । प्रत्यक्ष नाम उल्लेख नगरेपनि भारतीय सेनाध्यक्षले उद्धृत गर्नुभएको तेस्रो पक्ष चीन रहेको विश्वास गरिन्छ ।

नेपाल सरकारले मई १८ मा मन्त्रीपरिषद्को बैठकबाट अतिक्रमित भूभाग कालापानीलाई समेटेर नेपालको नक्सा परिमार्जनसहित प्रकाशन गर्ने निर्णय गरेको छ ।


प्रकाशित | ७ जेष्ठ २०७७, बुधबार ०७:३२