पहिलो सङ्क्रमित मृतकका परिवारको रिपोर्ट नेगेटिभ, उपचारमा संलग्नको पाँच दिनपछि जाँच गरिने

काठमाडौँ : नेपालमै पहिलो पटक कोरोना सङ्क्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको परिवारका सदस्यहरूको पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा।रमेश माकजूले शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । मृतकको १३ दिने शिशु, उहाँको परिवारका अरु सदस्यहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । २९ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै मृतकको शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको स्वाब सङ्कलन गरिएको थियो ।

उहाँहरूको स्वाब सङ्कलन गरेर रिर्पोट नेगेटिभ आएसँगै कम्तीमा १४ दिन क्वारेनटाइनमा राख्ने विषयमा छलफल भैरहेको छ । उहाँहरूलाई काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय तथा सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरेर १४ दिने क्वारेनटाइनमा राखिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा।रमेश माकजूले शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको र धुलिखेल अस्पतालमा मृतक महिलासँग सम्पर्कमा आएका एक जना चिकित्सकसहित चार जना पारामेडिकल कर्मचारीहरूको पाँच दिनपछि मात्रै स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गरिने बताउनुभएको छ । उहाँले पाँच दिनअघि चेकजाँच गर्दा नेगेटिभ आउन सक्ने सम्भावना धेरै हुने भएकाले वास्तविक तथ्य पत्ता लगाउन पाँच दिनपछि मात्रै चेकजाँच गरिने बताउनुभएको छ ।

काठमाडौँ शिक्षण अस्पतालमा सामान्य डेलिभरी भएपछि वैशाख २५ गते डिस्चार्ज गरिएकी महिलाको उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । सिन्धुपाल्चोकवाट जेठ १ गते धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा उहाँको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको आशङ्का गरिएकोमा आरडीटी र पीसीआर परीक्षणका रिपोर्ट शनिबार पोजिटिभ आएको थियो । त्यसपछि उहाँको परिवारका सदस्यहरूको पीसीआर परीक्षण गरिएको थियो । गोरखापत्र अनलाइन


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार १३:११