आजबाट मौसममा क्रमिक रुपमा सुधार हुने पूर्वानुमान

काठमाडौं । केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बङ्गालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले आजदेखि मौसममा सुधार आउने देखिएको मौसम पूर्वानुमानन महाशाखाले जनाएको छ । भारतको छत्तीसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यूनचापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो ।

केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पु¥याएको थियो । मौसमविदहरूले आजदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही दिन लाग्ने बताएका छन् ।

आज कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही ,धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग पर्न र हल्कादेखि वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, र प्रदेश २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित | १० आश्विन २०७७, शनिबार ११:२२