सिराहाका सङ्क्रमित मलेसियाबाट फर्केका र दोस्रो सङ्क्रमण

सन्तोष सुवेदी/ सिरहा

सिराहाको पहिलो सङ्क्रमित सखुवानानकरकट्टी–१ मौवाहीका मलेशियाबाट फर्केका ३० वर्षीय युवक रहेको बताइएको छ । गत फागुन २८ गते मलेशियाबाट फर्केका ती युवक यसअघि पनि सङ्क्रमित भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी निको भई फर्केका हुन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले मलेसियाबाट फर्केर उदयपुरको गाइघाटमा सैलुन खोलिबसेका ती युवकलाई त्यहीबाट कोरोना सङ्क्रमण भएपछि उपचारार्थ धरान लगिएको थियो । धरानबाट निको भई ती युवक पुनः आफ्नो गाउँ सिराहाको सखुवानानकरकट्टी–१ स्थित मौवाही आइबसेका थिए ।

ती युवकबाट गत वैशाख २९ गते पुनः परीक्षणका लागि सिराहाको पूर्वीदक्षिणको भगवानपुर गाउँपालिकाको स्वास्थ्य केन्द्रमा घाँटीको स्वाब लिइएको थियो । सङ्क्रमित युवकसँगसँगै १६० जनाको घाँटीको स्वाब लिइएको थियो । त्यसमध्ये अहिलेसम्म १८ जनाको मात्र स्वाब परीक्षणको परिणाम आएको प्रजिअ गुरागाईंले जानकारी दिनुभयो । स्वाब परीक्षणको परिणाम आएका अन्य १७ जनाको नतिजा नेगेटिभ आएको बताइएको छ ।

सुरुमा शनिबार बिहानै स्वास्थ्य मन्त्रालयको बुलेटिनमा ती युवकलाई सिराहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको थियो । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अल्मलाएको थियो । सिराहामा न कतै सखुवा–१९ छ न त सखुवानानकरकट्टी गाउँपालिकामै १९ नम्बरको वडा छ । सखुवानानकरकट्टी गाउँपालिकामा जम्मा पाँच वटा वडा मात्रै छ । गोरखापत्र अनलाइनको सहयोगमा


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १५:३२