वुहानका तीस लाख व्यक्तिमा कोरोना परीक्षण, दश दिनभित्र सबैमा परीक्षण सकाउने लक्ष्य

काठमाडौँ : चिनियाँ शहर वुहानका एक तिहाई जनसंख्यामा कोरोना भाइरसको परीक्षण गरिएको छ । समाचार संस्था रोयर्टसका अनुसार अप्रिल महिना यता वुहानमा तीस लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमणको परीक्षण गरिएको छ ।

रोयर्टसका अनुसार वुहानमा दश दिनभित्र सबैमा परीक्षण सकाउने लक्ष्यसहित न्यूक्लिक एसिड परीक्षण गरिँदैछ । अप्रिल एकदेखि मई १३ सम्म वुहानमा दश लाख ७९ हजार परीक्षण गरिएको छ । बिहिबार चारजना नयाँ सङ्क्रमित फेला परेका छन् । नयाँ थपिएका सबै सङ्क्रमित समुदायबाट नै फैलिएको छ ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाले शहरलाई सङ्क्रमणमुक्त बनाउने लक्ष्य अनुरुप युद्धस्तरमा परीक्षण कार्य गरिएको उल्लेख गरेको छ । यसअघि परीक्षण नगराएकालाई प्राथमिकतामा राखेर परीक्षण कार्य सुरु गरेको जनाएको छ । कोभिड–१९ को सङ्क्रमण सुरु भएको वुहानको जनसङ्ख्या करिब एक करोड दश लाख रहेको छ ।

अप्रिल आठमा लकडाउन खुले यता गत साता पहिलोपटक वुहानमा एकैपटक पाँचजनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमणको दोस्रो तरङ्ग आउन सक्ने जोखिमका बीच स्थानीय सरकारले वुहानमा बसोबास गर्ने सबैमा परीक्षण गर्ने निर्णयमा पुगेको थियो ।

 


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार १४:५२