संक्रमीत महिला फेला परेको धादिङको कटवाल पौवा गाउँ सिल

धादिङ : एक जना महिला संक्रमीत देखिएको धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटवाल पौवा गाउँलाई सिल गर्ने निर्णय गरिएको छ । शुक्रवार बिहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा त्यस क्षेत्रका जनप्रतिनिधिहरुसहितको संयुक्त वैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको हो ।

गल्छी गाउँपालिका वडा नं ८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्वर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक बीचको क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको हो ।

यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा जारी गर्दे सिल गर्ने निर्णय भएको प्रजिअ अस्मान तामाङले जानकारी दिनुभयो ।

उल्लेखित चार किल्ला भित्र कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पुर्ण प्रतिवन्ध लगाइएको छ । सम्पुर्ण सुरक्षा ब्यवस्था मिलाउनको लागि र माइकिङ गर्नको लागि शसस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ ।


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार १३:०७