होम खडकाको कोरोना अनुभव र सन्देश

यतिखेर तपाई हामी सबैलाई घरमा लामो समय बस्दा पट्यार लाग्नु, बोर लाग्नु, अल्छी लाग्नु स्वभावीक हो । तर कोरोनाको क्रास हामीलाई मात्र नभई पूरै मानव जातीको लागि नै ठूलो संकटपूर्ण अवस्था हो भन्ने कुरा हामीले भुल्नु हुँदैन । यो अत्यन्तै कष्टकर र चुनौतीपूर्ण अवस्था भएकाले केहि समय दुख भए पनि घरभित्रै बस्नुपर्छ भन्ने भित्रैदेखि भावना जगाउनु आवश्यक देखिन्छ ।

होम खडका- कार्यसमिति सदस्य,नेपाल हिमालय सीमापार वाणिज्य संघ

कोरोना (कोभिड १९ ) ले यतिखेर विश्वब्यापी महामारीको रुप लिइरहेको छ । विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोनाले संसारभरिका मानीसहरुलाई आतंकीत बनाइरहेको छ । विश्वका शक्तीशाली मुलुक समेत कोरोनासँग लडिरहेका छन् । नेपालमा पनि कोरोना नियन्त्रण तथा रोकथामको लागि लकडाउन गरिएको ५० औं दिन बित्तिसकेको छ । गत चैत ११ गतेदेखि गरिएको लकडाउन निरन्तर जारी राख्दै आगामी ५ जेठसम्म पुर्याइएको छ । त्यसपछिको दिनमा पनि लकडाउनको अवस्था के हुने भन्ने टुंगो छैन ।

नेपालमा पछिल्लो केहि दिनदेखि कोरोना संक्रमीतको संख्या ह्वात्तै बढेको छ । नेपालमा कोरोना संक्रमीत बढिरहँदा पनि राज्यले आफनो बलियो उपस्थिति देखाउन सकेको छैन । राज्यको कमजोरीले गर्दा लकडाउनको अवज्ञा हुँदा संक्रमीतको संख्या बढिरहेको देखिन्छ । लकडाउनलाई कडा बनाउँन नसकिए नेपालमा कोरोनाले महामारीको रुप लिनेमा कुनै शंका छैन । तर नागरिकहरुले सरकारी नियमलाई पूर्ण पालना गरेको दुई महिनाको अवधिमा पनि राज्यले कोरोनासँग सम्बन्धीत स्वास्थ्य सामाग्रीको प्रयाप्त मात्रामा जोहो गर्न गर्न सकेको देखिन्न । यस्तो बेलामा सरकार र नेताहरु आपसी भागबन्डा, कमीसन, सत्तालिप्सा र कमाउधन्दामा लाग्दा जनताको मनोबल गिराउने र जनतालाई निरास बनाउने कार्य भइरहेको छ, जसले गर्दा जनस्तरमा सरकार र राजनीतिक दलका नेताप्रति वितृष्णा जागृत भइरहेको छ ।

यतिखेर तपाई हामी सबैलाई घरमा लामो समय बस्दा पट्यार लाग्नु, बोर लाग्नु, अल्छी लाग्नु स्वभावीक हो । तर कोरोनाको क्रास हामीलाई मात्र नभई पूरै मानव जातीको लागि नै ठूलो संकटपूर्ण अवस्था हो भन्ने कुरा हामीले भुल्नु हुँदैन । यो अत्यन्तै कष्टकर र चुनौतीपूर्ण अवस्था भएकाले केहि समय दुख भए पनि घरभित्रै बस्नुपर्छ भन्ने भित्रैदेखि भावना जगाउनु आवश्यक देखिन्छ ।

यो बेला दुख सुख सहेर घरभित्रै बस्ने हो । हामीभन्दा ठूलाठूला र शक्तीशाली देशलाई त समस्या परेको छ भने हामीलाई समस्या नपर्ने त कुरौ भएन । हाम्रो जस्तो गरिव देशमा यो महामारीको रुपमा फैलियो भने के हालत हुन्छ भन्ने कुरा सबैले मनमा राख्नुपर्छ । यो बेला अलीकती दुख सुख सहेर भएपनि घरमै बसौं । भोलीका दिनमा ज्यान जोगिएछ, सुरक्षीत भइएछ भने सबै चीज पाइन्छ भन्ने मनमा लिनुहोला । ब्यवसायी साथीहरुलाई पनि यो बेला नआत्तिन र धैर्य भएर बसिदिनुहुन आग्रह गर्न चाहान्छु । यो बेला ब्यापार ब्यवसायको चिन्ता गरेर थप पीडित हुने भन्दा ज्यान सुरक्षीत बनाउनेतर्फ ध्यान दिनुहोला । ज्यानै रहेन भने अरु कुरा कल्पना गर्न नसकिने भएकाले अहिलेको लागि पहिलो प्राथमिकता कोरोनाबाट कसरी बच्ने र सुरक्षीत हुनेतर्फ ध्यान दिनुहोला ।

यतिखेर घरबाहिर निस्केर सान देखाउने, शक्ती र पहुँचको अनावश्यक दुरुप्रयोग गर्ने बेला कदापी होइन । अझ राहतको नाममा पास लिएर सडकमा निस्कँदै सामाजीक सञ्जालमा लाईभ गर्दै हिड्ने, मानीसलाई घृणा लाग्ने र मानीसलाई नै निरास बनाउने बेला पनि होइन भन्ने हामीले बुझनुपर्छ । सामाजीक सञ्जालमा त्यस्ता घिनलाग्दा गतिविधी देख्दा असाध्यै चित्त दुख्छ । अझ राज्यको चौथो अंग भन्ने मिडियाबाट भइरहेको गलत प्रचार, भ्रम र अफवाह फैलाउँदै समाजलाई नै आतंकीत बनाउने गरि प्रचार सामाग्री प्रस्तुत गर्ने कार्य पनि खेदजनक छ । त्यस्तो कार्य राज्यले तत्काल रोक्नुपर्छ । यो बेला सबै मानीसलाई माया, सान्त्वनाको खाँचो छ । हो, हामीले साँच्चिकै पास लिएर राहत बाँडन चाहान्छौ भने उनीहरुको दुखेको घाउमा मल्लम लगाउन सक्नुपर्छ । तर एक बोरा चामल गाडीमा हालेर प्रहरीको आँखा छली छली राहतको नाममा भइरहेको पास दुरुप्रयोगलाई सरकारले तुरुन्त कडाई गर्न आवश्यक छ । साथै उपत्यकाका विभिन्न नाकाबाट उपत्यकामा भित्रिरहेका मानीसहरुलाई पनि रोक्नतर्फ सरकारले ध्यान दिनुपर्ने देखिन्छ । नाकाभन्दा केहि परसम्म सवारीमा आएर नाकामा पुगेपछि पैदलमार्फत नाका छिर्ने र उपत्यकामा प्रवेश गर्ने कार्यलाई रोक्न नसके काठमाडौै उपत्यकामा कोरोना संक्रमण अझै बढ्ने देखिन्छ । जस्तै, मंगलबार उपत्यकामा कोरोना संक्रमण देखिएकाहरु पासमार्फत उपत्यकामा प्रवेश गरेको घटनाले उपत्यकामा बाहिरबाट आएका मान्छेबाट कोरोना फैलदै छ भन्ने कुरा सरकारले बुझन आवश्यक छ । त्यसतर्फ सरकारले गम्भिर भएर आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

यतिखेर विश्वभरि कोरोनाले महामारीको रुप लिइरहेको अवस्थामा कम्तीमा अत्यावश्यक कामबाहेक घरभित्रै बसेर कोरोना महामारीको रुपमा फैलन नदिनु तपाई हामी सबैको कर्तब्य हो । मेरो आफनै ब्यक्तीगत अनुभव सुनाउँदा पनि लकडाउनको यो अवधिमा ५० औ दिनमा अफिसमा डकुमेन्ट रहेकाले डकुमेन्टको लागि गएको थिएँ । न्यूरोड पुग्दा मलाई लाग्यो, नेपालमा लकडाउन नाम मात्राको रहेछ । न्यूरोड बजार बाहिर जताततै देखिएका सवारी साधनको चाँपले पासको कत्ती सम्मको दूरुप्रयोग भइरहेको रहेछ र लापरवाही गरिदैं रहेछ भन्ने भान भयो । कोरोना आफैमा सर्दैन तर घरबाहिर गएर कोरोनालाई प्रवेश गर्न पनि दिनु हुँदैन भन्ने कुरा बुझनुपर्छ । किनकी हामी एक जना मात्र घरबाहिर निस्केर त्यो रोग ल्यायौ भने त्यसले घरपरिवार सबैलाई सार्छ । त्यसकारण तपाई एक जनाको गल्तीले घरपरिवारको अन्य सदस्यलाई पनि रोग सार्ने काम नगर्नुहोला । यो रोग लागीसकेपछि तपाई जतिसुकै आर्थिक सम्पन्नता भए पनि केहि हुनेछैन । त्यसैले सबैभन्दा ठूलो कुरा रोग लाग्न नदिनु र आवश्यक सावधानी अपनाउनु नै अहिलेको अन्तिम विकल्प भएकाले पहिला आफू सुरक्षीत हुँदै अरुलाई पनि बचाउन सहयोग गर्नुहुन सबैमा हार्दिक अनुरोध गर्न चाहान्छु । धन्यवाद ।

 


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १९:०१