प्रधानमन्त्री केपी ओली विरुद्ध नियोजित आक्रमण किन ?

आनन्दप्रसाद पोखरेल, पूर्व मन्त्री, नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटी सचिव

लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले २०१८ सालदेखि कब्जा गर्न शुरु गर्यो । पञ्चायती सरकारले यति गम्भीर विषयलाई तीस वर्ष लुकाएर राख्यो। २०४८ सालमा यो जनता समक्ष आयो। तर भारतले अहिलेसम्म हाम्रा कुरा सुनेको छैन । अहिले पनि नेपालको सार्वभौमसत्ता र अखण्डतामा धावा बोलिरहेको मात्र होइन, अतिक्रमित भुभाग भारतीय नक्सा समावेश गरेको छ। नेपाली भुमिलाई मिचेर चीन जोडने सडक निर्माण गरिरहेको छ । नेपाल सरकारले भरतीय कदमबिरुद्ध बक्तब्य दिनु, कुटनीतिक नोट पठाउनु, नेपालस्थित भारतीय राजदुतलाई बोलाएर स्पष्टिकरण लिनु, तत्कालै बार्ताको प्रस्ताव गर्ने जस्ता काम सरकारले गरेको छ । भारतको शासक गुट कानमा तेल हालेर बसेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड दुवैले बिरोधमा बक्तब्य जारी गरी नेपालको मिचेको भुभागबाट भारतीय सेना फिर्ता गर्न माग गर्नुभएको छ । पार्टी बिदेश बिभाग प्रमुख कमरेड माधव नेपालले पनि भारतीय अतिक्रमणकारी बिरुद्धमा बक्तब्य जारी गरिसक्नु भएको छ । नेकपाका नेता, कार्यकर्ता, सबै जनबर्गीय संगठन, सांसदहरु र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सवैले भारतीय बिस्तारबादको बिरोधमा एकसाथ आवाज बुलन्द गरेका छन । अन्य पार्टीका देशभक्त नेता तथा कार्यकर्ताले भारतीय हस्तक्षेपको बिरोध गरेका छन । भारतको दशकौंदेखिको थिचोमिचोको बिरुद्ध नेपाली जनता एक भएका छन । नेपालमा अहिलेसम्म सरकार संचालन गरेका नेताहरुमा केपी ओलीले भारतीय अतिक्रमणबाट नेपालले मुक्ति पाउने बिश्वास लिएका छन । सरकारले पनि भारतीय हस्तक्षेपको बिरुद्ध कुटनीतिक, राजनीतिका साथै बार्ताको लागि पहल गरिरहेको छ ।

अन्तराष्ट्रिय अदालत जाने र युद्धको घोषणा गर्न मात्र बाँकी छ ।  तर पनि सरकारको, बिशेषत प्रधानमन्त्री केपी ओलीको बिरुद्धमा नियोजित आक्रमण जारी छ। अहिले कतिपय पार्टीभित्रको लाल बुझक्कड, भारतपरस्त राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, राजवादीहरु र कथित बुद्धिजीविहरु अतिक्रमणकारी भारतका शासक गुटका नेता मोदीको भन्दा केपी ओलीको बिरोध गर्छन, पुत्ला जलाउँछन। यिनीहरुको यो समय केपी ओलीबिरुद्धको मोर्चाबन्दीभित्रको अन्तर्य प्रकारान्तरले हिजोका शासक गुटले सत्ता र सरकार टिकाउन भारतीय छाता ओडेर भूमि अतिक्रमण गर्ने छुट्ट दिएर सुरक्षीत भएकाहरुका उत्तराधिकारीका रुपमा सडकमा सरकारबिरुद्ध नौटंकी प्रदर्शन गर्दै अतिक्रमणकारीलाई सहयोग गरिरेहका प्रतीत हुन्छ।

अब बन्द गरौं सबै हर्कतहरु। नेपालको सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्न, अतिक्रमित भुमि फिर्ता गरी सबै सीमा बिबाद हल गरी स्थायी रुपमा सिमामा कॉडेतार लगाई नेपालको सार्वभौम र स्वाभिमानको रक्षाको लागि सरकारको कदमलाई साथ दिऔँ, सिंगो मुलक एकताबद्ध बनौं ।


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार १३:१३