सरकारले भारतीय राजदूतलाई बुझायो कुटनीतिक नोट

काठमाडौं : परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राखेको छ । मन्त्रालयले राजदूत क्वात्रालाई सोमबार सिंहदरबारमा भेट गर्दै लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा कूटनीतिक नोट समेत दिएको हो ।

राजदूत क्वात्रासँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीले मन्त्रालयमा भेट गर्नुभएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूतलाई नेपाली भूमिमा बाटो निर्माण गरेको बिषयमा भारतको धारणा माग गर्नुभएको थियो ।

कोरोना संकटका बेला भारतले सीमा अतिक्रमण गरेको भन्दै नेपालमा सडक र सदनमा सरकारको चर्को आलोचना भइरहेको छ । भारतको कदमका कारण नेपाल सरकार समेत समस्यामा परेको अवगत गराउँदै नेपाल सरकार तत्कालै भारतसँग वार्ताको पक्षमा रहेको नोटमा उल्लेख गरिएको जनाइएको छ ।

गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।


प्रकाशित | २९ बैशाख २०७७, सोमबार १६:०३