भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाऔं : माधव नेपाल

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल भारत सिमामा काँडे तार लगाउनुपर्ने बताउनुभएको छ । भारतले पिलर सार्ने, सीमा मिच्ने, सुरक्षाकर्मीको क्याम्प राख्ने जस्ता काम गरेकोले अब काडेतार लगाउनेबारे अघि बढ्नुपर्ने नेता नेपालले बताउनुभयो ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिँदै कोरोनका त्रासका बीच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको बताउनुभयो । तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह गर्दै नेता नेपालले आवश्यक परे सिमानामा काडेतार लगाउन समेत जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्यो । भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं ।

नेता नेपालले थप्दै भन्नुभयो, ‘पार्टीको विदेश विभागले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । उच्च तहमा यसबारे छलफल गर्नुपर्यो । आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा प्रकाशन गर्न ढिला गर्नु भएन । सिमानामा नियमित अनुगमन गर्नुपर्यो । सुरक्षाकर्मीलाई के के सामग्री चाहिन्छ त्यो पनि ब्यवस्था गर्नुपर्यो ।’


प्रकाशित | २९ बैशाख २०७७, सोमबार १५:१६