एनआरएनए साउदीको सराहनीय कार्य: समस्यामा परेका १ सय ९८ जना नेपालीलाई राहत वितरण

साउदी अरव : साउदीमा कार्यरत कोरोना प्रभावित नेपालीको समस्यामा सहयोग गर्ने उद्धार अभियानमा एनआरएनए सक्रिय भएर लागिपरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदीले समस्यामा परेका सयौ नेपालीलाई राहत वितरण गरेको छ ।

संघले हालसम्म आफ्नो सम्पर्कमा आएका पूर्वीक्षेत्र दमाममा १०४, मध्ये क्षेत्र रियादमा ५६, अलकासिम ३ र तावुक क्षेत्रमा ३५ जना गरी कूल १९८ जनालाई मानवीय आधारभूत आवश्यकताको राहत सामग्री वितरण गरेको छ ।

संघवको ८ मे मा बसेको सातौं पूर्ण बैठकले कोरोना उद्धार अभियानमा हालसम्म संघले गरेका राहत वितरणका प्रयास र उपलब्धि सहित विभिन्न विषयमा छलफल गर्दै मध्यस्थकर्ताको रुपमा दूतावाससँग समन्वयकारी भूमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।

समितिका पदाधिकारी अध्यक्ष तेज बहादुर थापा, आइसीसी सदस्य नारायण पासवान, आइसीसी सदस्य यास्मिन बेगम, आइसीसी मानार्थ सदस्य रमेश भण्डारी, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, नेपाली दूतावास साउदीका नियोग प्रमुख दिलीप पौडेल र श्रम सहचारी जीवन राईको सहभागीतामा बसेको बैठकले विभिन्न विषयमा छलफल तथा निर्णय गरेको हो।

उक्त बैठकमा कोरोनाका कारण साउदीमा अलपत्र परेका नेपाली र उनीहरुका विषयमा दूतावासको अपेक्षा र एनआरएनए साउदीले खेल्नुपर्ने विषयका बारेमा, कोरोना प्रभावित कामदारको अभिलेख राख्ने विषयमा संघले गर्न सक्ने सहयोगका बारेमा, रोजगारी गुमाएकाहरुका लागि खाने बस्ने व्यवस्था मिलाउने बारेमा छलफल गरिएको छ ।

त्यसैगरी, कोरोनाका कारण रोजगारी गुमाएर बसेका, अबैधानिक रुपमा रहेका कामदार, विरामी परेका, घर विदामा जानको लागि एक्जिट र इन्ट्रि भिषा लागिसकेका तर बन्दका कारण जान नपाएर रोकिएका, एक्जिट भिसा लागेर तलबबाट बन्चित भएका लगायतका अन्य पीडितहरुको पहिचान सहित डाटा संकलन गरी यथाशिघ्र उद्धार र स्वदेश फिर्ताीका निम्ति दूतावासले चालेका कदम र एनआरएनए साउदीले गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल गरिएको थियो ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार १९:३७