आज फेरि सेतो कोट दुखेको छ (कविता )

-डा तोशिमा कार्की

आज फेरि,
डाक्टरमाथीको हिँसाले,
मेरो सेतो कोट दुखेको छ।
अनेकौं जोखिम बीच,
सेवारत मेरो हात काँपेको छ।

आज फेरि,
तिम्रा गलाबाट निस्किएका ती तु्च्छ वाणीले,
मेरो सेवा-लगनमाथी वर्षेका तिम्रा टिप्पणीले,
मेरो गलाको माला- “मेरो आला”को मनोबल गिरेको छ।
लाग्छ जसै “दोषी चश्मा” याहाँ सबैले भिरेको छ।

घर बस तिमीलाई, बाहिर ननिस्क,
जोखिम छ अस्पतालमा, नधाऊ पटक पटक!
किन बुज्दैनौँ तिमी, यो जोखिमबाट जोगाउन खेज्दैछु,
घातक यो भाइरसको पहुँचबाट उम्काउन खोज्दैछु।
तर यहिँ अस्पतालमा, सुरक्षित सामग्रीको अभावमा,
म त्यहि महामारिको विजसँग लड्दैछु,
आफूले खाएको विषले तिमीलाई नडसोस्,
म भरमग्दुर सतर्कता जो अपनाउँदैछु।
हो, घर बस तिमीलाई सुक्षित रहु भनिरहँदा,
म, रातको निद्रा अनि दिनको भोक एकै खुराक खाइरहेछु,
म मरे पनि मेरो देश बाँचिरहोस्,
यहि गाथाले कर्मपथ रङ्गाइरहेछु।
हो, म बिरामी हेरिरहेछु।
हो, म रोगसँग जुधिरहेछु।
किनकी, म ‘चिकित्सक हुँ’।

तिमीले लापरवाहीका छिटा मेरो कोटमा खोजिरहँदा,
यहि सेतो कोटमा म,
मेरो जीवनको इमान्दारिता खन्याइरहेछु।
हेलचेक्र्याँइको संज्ञा स्वरूप अपशब्दहरु तिमीले,
म माथी चिच्याइरहँदा, ति चिच्याहटबीच मेरो आलाले,
तिम्रो आक्रोशित मुटु्को तेज ढुकढुकी सुनिरहेछु,
र भन्दैछु,
यति विघ्न रिस स्वास्थको लागि हानिकारक हुन्छ।

तर किन सुन्न सक्दैन यो समाज हामी डाक्टरहरुको गुहार?
समय छैन आफ्नो लागि, न घर भन्न पाउँछौँ हामी न परिवार!
अनेकौँ जोखिमबीच सेवामा खटिएका डाक्टरको सुरक्षा खै कसले गर्छ ??
अझ उल्टो डाक्टरकै पारिश्रमिक काटिन्छ याहाँ प्रोत्साहन खै अब कसले गर्छ ??

ऐया ! मेरो सेतो कोट दुखेको छ।
ऐया ! मेरो आलाको मनोबल गिरेको छ|
लाग्छ, जसै याहाँ सबले दोषी चश्मा भिरेको छ|

खै त?
हिंसाले त्रसित एक डाक्टरको मुटुको भय सुन्न सक्ने
आला खै काहाँ छ ??
त्यहि भयले काँप्ने डाक्टरका हातहरुमा मनोबल थप्न सक्ने त्यो उपचार काहाँ छ ??
लापरवाही,हत्यारा, स्वार्थी ,गुण्डा, फरेब देख्ने,
यो समाजिक भाइरसको आक्रमणबाट हामी डाक्टरलाई बचाउन सक्ने त्यो डाक्टर काहाँ छ??

दण्डहिनतालाई पोषण कहिले सम्म?
डाक्टरमाथी हिंसा किहले सम्म ???

(सन्दर्भ : कोभिड१९ माहामारिसँग जुधिरहँदा धाप र प्रोत्साहनको सट्टा तबप कट्टि र हिंसा भोगिरहेका चिकित्सकहरुको आवाजलाई समेट्दै धुलिखेल अस्पतालकी आवासिय चिकित्सक डा तोशिमा कार्की)

स्रोत : स्वास्थ्य खवर


प्रकाशित | २७ बैशाख २०७७, शनिबार १८:४८