कोरोना महामारी बारे शान्ति अधिकारीको मकाउ अनुभव र सन्देश

शान्ति अधिकारी

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड १९ ) ले अहिले विश्व आक्रान्त छ । संसारभर कोरोनाले अहिले मानव जीवनलाई नराम्ररी प्रभावीत बनाइरहेको छ । कोरोनाले मेरो कर्मथलो मकाउमा पनि केहि समय जनजीवन प्रभावीत बनायो । अहिले भने मकाउ सामान्य अवस्थामा फर्किसकेको छ । विशेष गरि मकाउ सरकारको अर्थक प्रयास र कोरोना नियन्त्रणको लागि खेलेको भूमीका निकै प्रशंसायोग्य छ । चीनमा कोरोना फैलिरहँदा मकाउले आफना सबै नाका बन्द गर्दै छोटो समयमै कोरोनालाई नियन्त्रणमा ल्याउन सफल भयो । मकाउले अहिले कोरोनाबाट मुक्ती पाउँदै जनजीवन सामान्य बनाउँदै लगेको छ । यहाँ पछिल्लो समय नयाँ संक्रमीत समेत देखिएका छैनन भने सबै खालका कार्यालयहरु सञ्चालनमा आइसकेका छन । मे ४ तारिखबाट हाई स्कुल समेत सञ्चालनमा आइसकेको छ ।  मकाउले अन्तर्राष्ट्रिय उडान अझै बन्द गरेको छ । विदेशमा रहेका मकाउबासीलाई आउँन अनुमती प्रदान गरिरहेको छ भने गैर आवासीय नागरिकलाई भने आउँन रोक लगाइएको छ ।

मकाउमा सरकारले छोटो समयमा कोरोनालाई नियन्त्रणमा ल्याउन सफल भएको देखिन्छ । यहाँ फेम्बुअरी ५ तारिखदेखि १९ तारिखसम्म लकडाउन गरिए पनि फेम्बुअरी २० तारिखदेखि नै क्यासिनोहरु सञ्चालनमा आएको थियो । मकाउले लकडाउनको अवधिमा पनि खासै समस्या झेल्नु परेन । किनकी सरकारले जनताको लागि राम्रो काम गरेकाले जनताहरुले पनि खासै अभावको महसुस गर्न पाएनन । लकडाउनमा नत महँगी भयो नत अन्य खालका कुनै समस्या नै । मकाउको जनजीवन अहिले सामान्य अवस्थामा फर्किसकेको छ । अहिले अन्तर्राष्ट्रिय उडान र बोडर बाहेक सबै खुला भइसकेको छ । मकाउ बेरोजगारीको संख्या शून्य प्राय भएको देश पनि हो । अहिले सबै मानीसहरु आ आफनो काममा फर्किसकेका छन् ।

मकाउमा नेपालीको अवस्था पनि सामान्य छ । मकाउमा नेपालीलाई समस्या परेर राहत वितरण गर्नुपर्ने अवस्था आएको छैन । यहाँका कम्पनीहरुले नेपालीहरुलाई उच्चस्तरमा राख्ने गरेको छ अर्थात अन्य देशको तुलनामा नेपालीलाई सम्मान गरिन्छ । मकाउमा बसोबास गर्नुहुने कोही नेपाली पनि कोरोना संक्रमीत हुनभएको छैन । यहाँ रहनु भएको नेपाली कसैलाई कोरोना संक्रमण नहुनु, सुरक्षीत हुनु र कुनै समस्या नपर्नु हाम्रो लागि सुखद पक्ष हो । मकाउबासी नेपालीहरु नेपालमा लकडाउनको कारण रोकिनु भएको छ । लकडाउन र उडान बन्द हुँदा मकाउमा आउँन पाउँनु भएको छैन । जसको लागि गैर आवासीय नेपाली संघले नेपाल सरकारमार्फत पहल गरिरहेको छ । आशा गरौ, नेपालमा रहनु हुने मकाउबासी नेपालीहरु पनि चाँडै मकाउमा आउनुहुनेछ र आफनो काममा फर्कनुहुनेछ ।

अहिले विश्वभरि नै कोरोना महामारीको रुपमा फैलिरहेको छ । नेपालमा पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको छ । दिनप्रतिदिन कोरोना संक्रमीतको संख्या बढिरहे पनि अहिलेसम्म कोही नेपालीले पनि नेपालमा ज्यान गुमाउनु परेको छैन । संक्रमीतमध्ये पनि धेरैजसोको अवस्था सामान्य रहेको र एक तिहाई जति निको भइसक्नु भएको खवर सुन्नमा आएको छ । मकाउ कोरोना मुक्त भए पनि मकाउमा बसेर आफनो मातृभूमीप्रतिको चिन्ता धेरै लाग्ने रहेछ । नेपालमा सबैले सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गरेर अत्यन्तै संकटका बीच पनि घरभित्रै बसिरहनु भएको कुराले निकै खुसी लागेको छ । किनकी कोेरोना ब्यक्ती ब्यक्तीको माध्यमबाट सर्ने र यसबाट बच्न कोरोना संक्रमीत नछुटीएसम्म घरभित्रै बस्नुको विकल्प छैन । कोरोना संक्रमीत छुट्याउन धेरैभन्दा धेरै ब्यक्तीहरुमा कोरोना परीक्षण गर्नुपर्ने हुन्छ जुन नेपाल सरकारले गरिरहेको छ । तर सरकारले जुन ढंगले गम्भिर हुँदै कोरोना परीक्षणलाई ब्यापक बनाउनुपर्ने हो त्यो भने गर्न नसकिरहेको हो कि भन्ने आभास भइरहेको छ । विशेष गरि नेपाल सरकार यो बेला जनताप्रतिको अभिभावकको दायित्व निर्वाह गर्नमा गम्भिर भएर लाग्नुपर्ने देखिन्छ । अहिलेको हाम्रो मुख्य दुश्मन नै कोरोना हो भन्ने मिसन लिएर नेपाल सरकार मात्र नभई सबै राजनीतिक दल र नेताहरु लाग्नुपर्ने देखिन्छ । मकाउको अनुभव शेयर गरिहँदा यहाँ सरकारले जनताप्रति देखाएको इमानदारीताकै कारण कोरोना नियन्त्रणमा आएको हो । जनतालाई कुनै समस्या नहुने गरि जनताको विश्वास जितेर हरेक निर्णय कार्यान्वयनमा ल्याउँने र जनताहरु पनि सचेत भइदिएको कारण आज मकाउको सबै क्षेत्र चलायमान छन् । जसले गर्दा यहाँको अर्थतन्त्रमा कुनै असर पर्न गएको छैन ।

नेपालमा पनि अहिलेसम्म कोरोना संक्रमीत सय क्रस गरिरहे पनि जनसंख्याको तुलनामा त्यो खासै ठूलो संख्या होइन । नेपालमा अझ बढी प्रभावकारी र ब्यवस्थित रुपमा सरकारले कोरोना नियन्त्रणकोे लागि रणनीति बनाएर अगाडि बढेको खण्डमा कोरोना नियन्त्रणमा ल्याउँन सकिन्छ जस्तो लाग्छ । विशेष गरि भारतको नाकालाई कडाई गर्न भने अत्यन्तै जरुरी छ । साथै मानव जीवनकै सबैभन्दा ठूलो महाविपत्ति भएकाले यो बेला सबैले आआफनो ठाउँबाट नसक्नेलाई सक्दो सहयोग गर्दै मानवीय भावनाले काम गर्ने र सरकारले पनि जनतालाई आवश्यक राहत सहयोग गर्दै लकडाउनलाई ब्यवस्थित बनाउँदै कोरोना परीक्षणलाई ब्यापक बनाएमा मलाई लाग्छ, मकाउले जस्तै नेपालले पनि चाँडै कोरोना नियन्त्रणमा सफलता हासिल गर्नेछ । धन्यवाद ।

लेखक शान्ति अधिकारी एक दसकदेखि मकाउमा बस्दै आउनुभएको छ । अधिकारी एनआरएनए मकाउको पूर्व अध्यक्ष तथा हाल केन्द्रीय सदस्य हुनुहुन्छ ।


प्रकाशित | २७ बैशाख २०७७, शनिबार १६:१४