एनआरएनए माल्टामा अध्यक्षमा गिरी र महासचिवमा पाण्डेको उम्मेद्वारी

काठमाडौं । आगामी साउन १४(जुलाई ३०) मा युरोपिय मुलुक माल्टामा हुन गइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) माल्टाको निर्वाचन(२०२३–२०२५) को चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

अर्को साता हुने सो निर्वाचनमा अध्यक्षका उम्मेद्वार रोशन गिरी नेतृत्वको टिमले उम्मेद्वारी दर्ता गराएको छ । उहाँको टिमबाट विरोजंग पाण्डेले महासचिव पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । अध्ययनको सिलसिलामा माल्टा पुग्नु भएका पोखराका गिरी एनआरएनए माल्टाका निर्वतमान महासचिव पनि हुनुहुन्छ ।

त्यस्तै, महासचिवमा उम्मेद्वारी दिनु भएका पाण्डे प्रवासी नेपाली मञ्च माल्टाका निवतर्मान सचिव रहनु भएको थियो । दोलखाबाट रोजगारीको सिलसिलामा प्रवास पुग्नु भएका पाण्डे स्वदेशमै रहँदा विद्यार्थी राजनीति हुँदै विभिन्न सामाजिक संघ–संस्थामार्फत सामाजिक अभियान र सहकारी अभियानमा पनि क्रियाशील रहनु भएको थियो ।


त्यस्तै, ६ वर्षदेखि माल्टामा विभिन्न सामाजिक अभियानमार्फत जोडिएर प्रवासी नेपाली मञ्चको नेतृत्व सम्हालिसकेका निवतर्मान अध्यक्ष सत्यनारायण झाले उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । उहाँले एनआरएनए माल्टाको दोस्रो अधिवेशनमा निर्वाचन समितिमासमेत रहेर जिम्मेवारी निर्वाह गर्नु भएको थियो । उहाँ माल्टामा करिब सात वर्षदेखि विभिन्न सामाजिक अभियानमा नेतृत्वदायी भूमिकामा रहेर खटिदैं आउनु भएको छ ।


निर्वाचन समितिको पछिल्लो तथ्यांकअनुसार आगामी नेतृत्वका लागि अध्यक्ष र महासचिवसहितको पदाधिकारी तथा सदस्यसहित ६० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । ३ हजार १ सय ८७ मतदाता एनआरएनए माल्टाको निर्वाचनमा अनलाईन भोटिङ प्रणालीबाट मतदान गराउने तयारी छ ।
अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनेमध्येका २७ वर्षीय गिरी विजयी बने एनआरएनएको इतिहासमा अहिलेसम्मकै कान्छा अध्यक्ष बन्नु हुनेछ । निवतर्मान अध्यक्ष भुवन अर्यालले भने आईसिसी सदस्यका लागि उम्मेद्वारी दर्ता गराउनु भएको छ । अर्याल टिममा महासचिव रहेका गिरीले यसअघि एनआरएनए माल्टाको युवा संयोजकका रुपमा समेत सफल नेतृत्व गरिसक्नु भएको छ ।
उता, महासचिवका उम्मेद्वार पाण्डे दुई÷तीन वर्षको छोटो अवधिमै त्यहाँ रहेका प्रवासी नेपालीहरुको समस्या सम्बोधनका लागि पहल गर्न अहोरात्र खटिएर प्रशंसा बटुल्दै आउनु भएको छ । उहाँले सामाजिक सञ्जाल, कुटनीतिक समन्वय र सम्वादमार्फत त्यहाँ रहेका नेपालीहरुको अस्थायी कार्ड र बसोबासको समस्या, भिसाको समस्या, कानुनी समस्या भोगिरहेका नेपालीहरुको समस्या समाधानका लागि अग्रशरता देखाएर लोकप्रियता बटुल्दै आउनु भएको छ ।
गिरी, पाण्डे, झासहितका उम्मेद्वारहरुले नेतृत्वमा आएपछि गरिने कामका बारेमा दुई दर्जनभन्दा बढि प्रतिबद्धता अगाडि सारेर चुनावी प्रचार अभियानलाई तीब्र बनाउनु भएको छ ।


प्रकाशित | ७ श्रावण २०८०, आईतवार १४:२४