सीमा क्षेत्रमा ५ सय बीओपी, थप ९ हजार सुरक्षाकर्मी खटाउने तयारी

काठमाडौं :  नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट (बोर्डर अब्जरभेजन पोस्ट-बीओपी) राख्ने तयारी गरेको छ ।  गृह मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रमा ५ सय १६ वटा बीओपी राखी थप ९ हजार सुरक्षाकर्मी तैनाथ गर्ने प्रस्ताव तयार गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सीमा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओेपी थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेका छन् ।

गृहमन्त्री थापाको निर्देशनअनुरुप सशस्त्र प्रहरी बलले भारतकै बराबर बीओपी राख्ने खाका तयार पारी गृह मन्त्रालयमा समक्ष प्रस्तुत गरेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

हाल सीमामा एक सय २१ बीओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय १६ पुर्‍याउने सरकारी तयारी छ । प्रस्ताव अनुसार हालको संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्र प्रहरीको छ ।

हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको बीओेपी त्यसपछि ३.५ किलोमिटरको दूरीमा रहनेछ । दक्षिणी सीमानामा १ हजार ८ सय ८० किलोमिटर दूरीमा भारतको एसएसबीअन्र्तगतका ५ सय ३० बीओपी छन् ।


प्रकाशित | २४ बैशाख २०७७, बुधबार ०८:३६