‘काठमाडौं उपत्यकामा कमी कमजोरी भए ठूलो क्षति हुन सक्छ, अहिलेलाई पूर्ण रुपमा सिल गरौ’

काठमाडौं : स्थानीय जनप्रतिनिधिहरूले उपत्यका सुरक्षित रहे पनि कमी कमजोरी भएमा समस्या निम्तिन सक्ने र ठूलो क्षति बेहोर्नुपर्ने भन्दै उपत्यकालाई पूर्ण रूपमा सिल गर्न संघीय सरकारलाई दबाब दिएका छन् । सरकारले क्षेत्र विभाजन गरेर लकाडाउन केही खुकुलो बनाउने योजना ल्याएपछि जनप्रतिनिधिले संघीय सरकारलाई त्यस्तो सुझाव दिएका हुन ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनकुमार श्रेष्ठले संयुक्त रूपमा उच्चस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिका संयोजक ईश्‍वर पोखरेललाई भेटेर उपत्यकालाई सिल गर्न माग समेत गर्नुभयो ।

उपत्यका छिर्ने नाकाहरू खुकुलो भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । सरकारले ११ चैतदेखि देशमा लकडाउन लागू गरेको छ । हालसम्म २५ वैशाखसम्मको मिति तोके पनि अबको दिनमा के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।


प्रकाशित | २३ बैशाख २०७७, मंगलवार १९:३६