नेपालमा एकैसाथ ५ वायु प्रणाली सक्रिय, अझै १ सातासम्म वर्षा

काठमाडौं : नेपालमा एकैसाथ ५ वटा वायु प्रणाली सक्रिय बनेको छ । ५ वटै प्रणाली सक्रिय हुँदा अझै १ साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।

नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ । पूर्वमनसुन (प्रिमनसुन) को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण एक सातासम्म वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ ।’

पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उनले बताइन् । तर, वर्षाको समयको झरी जस्तो लगातार बर्सिरहने गुण भने यसमा नरहने उनले प्रस्ट्याइन् । मौसमविद् मानन्धरका अनुसार झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने गुण यस समयमा भइरहने गर्छ । साथै प्रिमनसुनको विशेषता मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी बढी हुने गर्छ ।

‘हाल देखिएको मौसम प्रणालीले विस्तारै प्रिमनसुनलाई मनसुनतिर धकेलिँदै लगेको देखाउँछ । विभिन्न वायु सक्रिय बनेर पश्चिमी वायुलाई विस्थापित गर्ने क्रममा यो प्रणाली विकसित भएको हो’ मौसमविद् मानन्धरले सुनाइन् । सिजन परिवर्तन हुँदै गर्दा र मनसुनको वातावरण बन्ने क्रममा धेरै किसिमका वायु नेपाल भित्रने गर्छ । जुन वायुले अन्य वायुलाई विस्थापित गर्न सक्छ, त्यो रहन्छ । अन्य वायु कमजोर बन्छ । मौसममा आएको उतारचढाव रहेकाले सचेत रहन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार यस वर्षको प्रिमनसुनको समय गएका वर्षभन्दा फरक रहेको छ । यो मौसममा अनुमान गरे अनुसार पानी नपर्ने, मौसममा परिवर्तन नहुने क्रम विगतमा धेरै देखिएको थियो तर यसपटक अनुमान गरेभन्दा फरक हिसाबले पानी परेको मौसमविद् मानन्धर बताउँछिन् । उनले पानी पर्ने प्रवृत्तिलाई जति सक्रिय रह्यो हावाहुरीको प्रवृत्ति भने कमजोर देखिएको बताइन् । उनका अनुसार अहिलेको आकाशको बादल र पानी हेर्दा धेरैलाई मनसुनजस्तो लागे पनि यसको वर्षाको प्रकृति भिन्न छ ।

अद्यावधिक प्रणाली अनुसार नेपालमा आउँदो जुन १० देखि मनसुन भित्रने मौसमी क्यालेन्डर छ । यो प्रवृत्ति पनि हरेक १० वर्षमा परिवर्तन हुने गर्छ । अहिले देखिएको प्रणालीले मनसुनका लागि नेपालमा बाटो बनाउँदैछ । प्रिमनसुन सकिँदै गर्दा पूर्वीय वायु सक्रिय हुने र बङ्गालको खाडीलगायतका क्षेत्रबाट भारत हुँदै नेपालमा मनसुन भित्रन्छ । आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | २३ बैशाख २०७७, मंगलवार ०८:१२