भारतमा एकै दिन ४ हजार संक्रमित थपिए, १७५ जनाको मृत्यु

काठमाडौं : भारतमा एकै दिन झण्डै ४ हजार कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार सोमबार मात्र भारतमा ३ हजार ९ सय ३२ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ४६ हजार ४ सय नाघेको छ ।

त्यस्तै, भारतमा बितेको २४ घण्टामा १७५ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसहित त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६६ पुगेको छ ।

३२ हजार संक्रमितको उपचार जारी रहँदा भारतमा अहिलेसम्म १२ हजार ८ सय विरामी निको भएका छन् । हालसम्म त्यहाँ ११ लाख बढी व्यक्तिमा कोरोना परीक्षण गरिएको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट हालसम्म २१० देश प्रभावित भएका छन् ।

मंगलबार बिहानसम्म यो भाइरसबाट ३६ लाख ४३ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ११ लाख ९४ हजार संक्रमित निको हुँदा २ लाख ५२ हजार व्यक्तिको मृत्यु भएको छ ।


प्रकाशित | २३ बैशाख २०७७, मंगलवार ०८:०१