लकडाउनमा खानपान ब्यवस्थापन बारे सेफ प्रेमलाल घिसिङको सन्देश

सेफ प्रेमलाल घिसिङ

विश्व मानव जगत यतिबेला कोरोनाको मारमा छन् । अझै पनि कोरोना भाइरस सम्बन्धी कुनै भ्याक्सिन विश्वले निर्माण गर्न सकेको छैन् । र, यसको अन्त्य कहिले हुने हो त्यो पनि कसैलाई थाहा प्रछैन । आजको आधुनिक विश्वले पनि सुक्ष्म भाइरस कोरोनालाई जित्न सकेको छैन । विज्ञानले मान्छेको शरीरको सानो सानो कुरा पनि थाहा पायो तर आज कोरोना सँग विश्व विज्ञान पनि हारेको छ । त्यसैले आकार भन्दा शक्ति ठुलो हुन्छ । मित्र राष्ट्र चिनको वुहान शहरबाट सुरु भएको यो भाइरसबाट युरोपियन राष्ट्रहरुलाई बढि प्रभाव पारेको छ । विशेषगरि इटाली र स्पेनमा त महामारी नै चल्यो । विश्वका शक्तिशाली राष्ट्रहरु यो समयमा रोइरहेको छ । यसको तुलनामा नेपाल हाल सम्म सुरक्षीत नै छ । आज प्रकृतीले विश्वका धनाढ्यहरुलाई आफ्नै महलमा थुनेको छ । प्रकृती भन्दा माथि कोही छैन । आधुनीकताको नाममा प्रकृती माथि गरेको अन्यायको फल हो यो । हामीले गरेको हरेक क्रियाकलापले विश्व प्रकृतीलाई असर गरेको छ । अव विश्व मानव प्रकृतीमय हुनु जरुरी छ । हरेक राष्ट्रले स्वास्थ्य र औद्योगिक नीति परिवर्तन गर्नु पर्छ । दिन प्रतिदिन मानवताको स्तर खस्किरहेको छ, तर हामी भनिरहेका छांै मान्छेहरु प्रगतीपथमा छन् ।

चीन र दक्षिण कोरियाले अहिले कोरोनालाई नियन्त्रणमा ल्याउन सफल भएको छ । उनीहरुले सरसफाई र सुरक्षीत घर भित्रको बसाईलाई प्राथमिकता दिएकै कारण रोग नियन्त्रणमा आएको देखिन्छ । त्यसैले हामी सबै सरकारको नियमलाई पालना गर्दै घर भित्रै बसौं र सरसफाईमा ध्यान दिऔं। यसको संक्रमणबाट बच्ने उपाय नै यहि हो । कोरोनाको संक्रमणबाट बच्न तपाईको शरीरलाई स्वस्थ र फुर्तिलो बनाउन आवश्यक छ । विश्व मानव सामु तीनवटा कुरा छन् जसले तपाईको शरीरलाई स्वस्थ र फुर्तिलो बनाउँछ । तपाई नियमीत रुपमा निन्द्रा पुग्ने गरि सुत्नुहोस, नियामित पोषिलो खानपान भोजन गर्नुस् र नियमीत शारीरीक अभ्यास गर्नूहोस । जस्ले तपाईको शरीरलाई हरेक रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्दछ । सकेसम्म तपाईले खानपानमा हाम्रो नेपाली रैथाने परिकारको प्रयोग गर्नुस जसमा हाम्रो शरीरको लागि आवश्यक पौष्टिक तत्व पर्याप्त पाईन्छ । मानव शरीर पञ्चतत्वले बनेको छ । पञ्चतत्वलाई चाहिने भनेकै खानपान हो । विश्वले प्राविधिक रुपमा जतिसुकै शिखर छोएपनि खाने अन्नपात भनेको कृषीबाटै हो ।

पश्चीमेली शिक्षाको प्रमाणपत्र बोकेर दुई चार सिक्का डलरको लोभमा आफ्नो रैथाने प्रविधि, ज्ञान र सीपलाई नबिर्साै । यथार्थ आज हाम्रौ अगाडि आइसकेको छ । म कुनै विज्ञ त होइन तर अहिलेसम्मको विभिन्न समाचार र परिवेशलाई हेर्ने हो भने घाम, पानी र प्रकृतिबाट टाढा रहेको राष्ट्रहरु कोरोना भाइरसबाट बढि प्रभावित छन् । त्यसैले हाम्रो प्राकृतिक रैथाने बाली र रैथाने खानपानलाई प्रथामिकतामा राखौँ । हरेक प्रकारको रोगबाट सुरक्षित रहौँ ।

लेखक  नेप्लीज सेफ फेडेरेशनको केन्द्रीय सचिव र नेपाली रैथाने खाना खोज अभियान्ता हुन् ।


प्रकाशित | २१ बैशाख २०७७, आईतवार २१:१९