विपत्तिमा एनआरएनएको राहत: १ करोड वरावरको कोरोना परिक्षण गर्ने किट खरिद गरेर नेपाल पठाउँदै

एनआरएनएले कोरोना परीक्षणमा प्रयोग हुने टेस्ट किट , चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), माक्स र थर्मल गन सहयोग गर्ने,  नेपाल सरकारको सामान लिन चीन जाने प्लेनमा सँगै सामान नेपाल पठाउने तयारी

काडमाडौं : नेपालमा कुनै पनि किसिमको प्राकृतिक विपत्तिमा सहयोगी बन्दै आएको विश्वभरि छरिएर रहेका गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस विरुद्ध लड्नको लागि नेपाललाई १ करोड वरावरको अत्यावयक स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । एनआरएनएले कोरोना परीक्षणमा प्रयोग हुने टेस्ट किट , चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), माक्स र थर्मल गन सहयोग गर्न लागेको हो ।

गैर आवासीय नेपाली संघले एक खरिद समिति बनाउँदै एनआरएन चीन र हङकङसँग समन्वय गरि सो सामान खरिद गरेर नेपाललाई सहयोग गर्न लागेको हो । यसअघि एनआरएनएले कोरोना महामारी विरुद्ध लड्नको लागि नेपाल सरकारले खडा गरेको कोरोना भाइरस राहत कोषमा १ करोड सहयोग गर्ने निर्णय गरेको थियो । तर नेपाल सरकारले रकम भन्दा पनि सोही वरावरको सामान उपलब्ध गराउन आग्रह गरेपछि एनआरएनएको बुधबार बसेको बैठकले एक खरिद समिति बनाउँदै चीनबाट ती सामान खरिद गर्ने निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको हो । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरिएको जानकारी गराउनुभयो ।

अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सरकारलाई कोरोना भाइरस विरुद्ध जुध्न घोषणा गरेको रू १ करोड सहयोगमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहअनुसार स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराइन लागिएको जानकारी गराउनुभयो ।

अध्यक्ष पन्तका अनुसार जसअनुसार खरिद गरिएको सामान चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराइनेछ । ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको पन्तले बताउनुभयो ।

सरकारी सामान लिन जाने प्लेनसँगै चीनबाट सामान नेपाल पठाउँदैछौ : बद्री केसी, उपाध्यक्ष, एनआरएनए

एनआरएनए उपाध्यक्ष तथा भौतिक सामग्री सहयोग संकलन उपसमिति संयोजक बद्री केसीले नेपालमा सामान पठाउन अप्ठ्यारो भएको बताउँदै नेपाल सरकारको सामान लिन चीन जाने प्लेनमा सँगै सामान नेपाल लैजाने तयारी भइरहेको जानकारी गराउनुभयो ।

चीनस्थित नेपाली राजदूतावासलाई एनआरएनएले खरिद गरेको सामानहरु ह्स्तान्तरण गर्ने र सो सामान सरकारी सामान ल्याउने प्लेनमा सँगै नेपाल लगीने केसीले बताउनुभयो ।

उपसमिति केसीका अनुसार एनआरएनले खरिद गर्ने सामानमा ५० प्रतिशत टेष्ट किट र अन्य रकमको चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), माक्स र थर्मल गन रहनेछ ।

सामान नेपाल पठाउन आत्तुर छौ : प्रदीप न्यौपाने, अध्यक्ष -एनआरएनए चीन

गैर आवासीय नेपाली संघ चीनका अध्यक्ष प्रदीप न्यौपानेले एनआरएनए नेपालमा सामान पठाउन आत्तुर रहेको बताउनुभएको छ । अध्यक्ष न्यौपानेका अनुसार चीनमा मेडिकलका सामानहरु उच्च गुणस्तर सँगै सस्तो पनि हुने गरेको छ । यसअघि एनआरएनएले कोरियाबाट ती सामान ल्याउने विषयमा छलफल गरेको थियो । तर कोरियाभन्दा चीनबाट धेरै सस्तो पर्ने भएकाले चीनबाट खरिद गर्न लागिएको हो । अध्यक्ष न्यौपानेका अनुसार एनआरएनएले सहयोग गर्ने किट मात्र लगभग ५ हजारको हाराहारीमा उपलब्ध हुनेछ ।

अध्यक्ष न्यौपानेले सो सामान ब्यक्ती विशेषले नेपाल पठाउन सक्ने अवस्था नरहेको बताउँदै ग्वाङ्घजोस्थित नेपाली महावाणिज्यदूत हरिशरण पुडासैनीसँग समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

सरकारले तीन दिनमा अत्यावश्यक उपकरण सामग्री ल्याउने

सरकारले अबको तीन दिनमा चीनबाट स्वास्थ्यकर्मी र चिकित्सकलगायतका अत्यावश्यक उपकरण सामग्री ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै तीन दिनभित्र अत्यवाश्यक उपकर ल्याउने जानकारी गराउनुभएको हो ।


प्रकाशित | १२ चैत्र २०७६, बुधबार १८:२६