बेलायतमा कोरोनाबाट ४९ नेपालीको मृत्यु

लण्डन : बेलायतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको स्वास्थ्य समितिमार्फत जारी तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा ४९ जना नेपालीले कोरोनाबाट ज्यान गुमाएको देखिएको हो ।

लण्डनस्थित नेपाली दूतावासले भने हालसम्म बेलायतमा कोरोनाबाट ३६ जना नेपालीको मृत्यु भएको पुष्टी गरेको बेलायतबाट सञ्चालीत नेपाली अनलाइन नेपाली लिङ्कले उल्लेख गरेको छ ।

एनआरएनए यूकेले संकलन गरेको तथ्यांकका आधारमा बेलायतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेमध्ये क्षेत्रगत रुपमा सबैभन्दा बढी ग्रेटर लण्डनमा २७ जना छन् । त्यस्तै, साउथ ईष्ट इंग्ल्याण्डमा ११ जना, मिडल्याण्डमा ८ जना र साउथ वेस्ट इंग्ल्याण्डमा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये करिब तीन दर्जन भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य रहेको बताइएको छ ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र बेलायतभर रहेका आफ्ना पदाधिकारीहरुको सक्रियतामा तथ्यांक बटुलिएको जनाएको छ । एनआरएनए यूकेको तथ्यांकअनुसार बेलायतमा कोरोनाको संक्रमणका कारण कुल ८६ जना नेपाली अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये २१ जना अझै पनि अस्पतालमै उपचारको क्रममा छन् ।

त्यसैगरी, लक्षणहरु देखिएर घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्ने नेपालीको कुल संख्या ३ सय ६९ छ । जसमध्ये १ सय १९ जना अझै पनि ‘आइसोलेसन’ मा छन् ।


प्रकाशित | २१ बैशाख २०७७, आईतवार १८:३१