सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम : साढे चार करोड अनियमितता

काठमाडौं : देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको राजधानी दैनिकमा खबर छ ।

‘रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,’ महालेखाले भनेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार शिक्षा विकास तथा समन्वय इकाइ झापाले निर्देशिकाविपरीत रकम बाँडेको देखिन्छ । लक्षित समूहका विद्यार्थीलाई दिवा खाजाको रकम दिनुपर्नेमा जिल्लाका ३ सय १३ प्राथमिक विद्यालयका १३ हजार ८ सय ६१ विद्यार्थीका लागि २ हजार ७ सय रुपैयाँका दरले ३ करोड ७४ लाख २५ हजार ७ सय रुपैयाँ निकासा दिएको देखिन्छ । निर्देशिकाविपरीत निकासा भएको रकम यकिन गरी असुल गर्नुपर्ने महालेखापरीक्षक प्रतिवेदनको निष्कर्ष छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार ०७:५४