साउदी अरबमा २६ जना नेपालीमा कोरोना संक्रमण, थप सतर्क र सजग हुन महावाणिज्य दूतावासको आग्रह

साउदी अरव : साउदी अरेबियामा २६ जना नेपालीमा कोरोना संक्रमण भएको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ । दूतावासका अनुसार साउदी अरेबियामा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

फोनबाट संक्रमित व्यक्ति स्वयंसँग, सोही कम्पनीमा कार्यरत अन्य सहकर्मीसंग, कम्पनीको पिराओ सँग वा उपचाररत अस्पतालका सम्बन्धित चिकित्सकसंग भएको कुराकानीबाट प्राप्त जानकारी अनुसार हालसम्म जेद्दाको क्षेत्राधिकारिभत्र २६ जना नेपाली नागरिकहरु कोरोनाबाट संक्रमित भएको जानकारी प्राप्त भएको दूतावासले जनाएको हो ।

दुतावासका अनुसार ती मध्ये एकजना उपचारपछि फर्केका र २५ जना उपचाररत रहेको र उपचाररतमध्ये एकजना गम्भीर अवस्थामा रहेको सम्बन्धित चिकित्सकबाट जानकारी प्राप्त भएको छ ।

‘विशेषत मक्का, रियाद, मदिना, जेद्दा र दमाममा बढी संक्रमण फैलिएको यहाँको स्वास्थ्य मन्त्रालयको दैनिक बुलेटिनबाट जनाएको छ’, दूतावासले एक बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘खासगरी श्रमिकहरुको बासस्थान र भीडभाड हुने क्षेत्रमा संक्रमण बढी फैलिएको हुँदा थप सतर्क र सजग हुनुपर्ने देखिन्छ।’

कोरोना भाइरसको संक्रमण फैलिनबाट नियन्त्रण र रोकथामका लागि तथा संक्रमितहरुको उपचारका लागि साउदी सरकारले गरेको प्रयास अत्यन्त प्रशंसनीय रहेको दूतावासले उल्लेख गरेको छ ।

Image may contain: text


प्रकाशित | १८ बैशाख २०७७, बिहीबार १९:१२