नेपालमा रोकिएका ६ सय हङकङबासी नेपालीको नामावली संकलन, नेपाली महावाणिज्य दूतावास हङकङ मार्फत पहल गरिदिन माग

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले लकडाउन र उडान प्रतिबन्धका कारण नेपालमा रोकिएका ६ सय जनाको नामावली नेपाली महावाणिज्य दूतावासको कार्यालयमा महावाणिज्यदूत कमल प्रसाद भट्टराईलाई बुझाएको छ ।

एनआरएनए हङकङका महासचिव गोकर्ण ढकालले महावाणिज्य दूत भट्टराईलाई नेपालमा रोकिएका ६ सय नेपालीलाई हङकङमा ल्याउने ब्यवस्था मिलाइदिनको लागि पहल गरिदिन नामावलीसहित ज्ञापनपत्र बुझाउनुभएको हो ।

सो अवसरमा महावाणिज्य दूत भट्टराईले हङकङ सरकारको सम्बन्धित निकाय र नेपाल सरकारको परराष्ट्र मन्त्रलयमा जानकारी पठाई सकेको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसअघि पनि एनआरएनए हङकङले नेपालको विभिन्न ठाउँमा रहेका ६ सय नेपालीहरु उडान प्रतिबन्धको कारण अड्कीएको भन्दै फर्कने वातावरण मिलाइदिन नेपाल सरकारसँग माग गरेको थियो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कोभिड १९ प्रभावीत विभिन्न देशका एनसिसी अध्यक्षसँग गर्नुभएको छलफलको क्रममा एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका ) गुरुङले हङकङमा कोरोनाको कारण जनवरीबाट विद्यालय बन्द हुँदा सपरिवार नेपाल भ्रमण आएका हङकङबासी नेपाली उडान बन्दका कारण नेपालमा अड्कीएको भन्दै हङकङ फर्कने ब्यवस्था मिलाइदिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै मन्त्री ज्ञवालीले पर्यटन मन्त्रालयसँग समन्वय गरेर आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएसँगै एनआरएनए हङकङले नेपालमा रहेका हङकङबासी नेपालीहरुको नामावली संकलन गरेको हो । नामावली संकलन गर्दै चाँडो भन्दा चाँडो पहल गरिदिन हङकङ महावाणिज्यदूत मार्फत नामावलीसहितको जानकारी पत्र एनआरएनएले बुझाएको हो ।

त्यस्तै, अध्यक्ष गुरुङले नेपालमा रोकिएका हङकङबासी नेपालीलाई जाने ब्यवस्था मिलाउनको लागि एनआरएनए आइसिसीले पनि सरकारमार्फत सक्दो पहल गरिरहेको जानकारी गराउनुभयो ।


प्रकाशित | १८ बैशाख २०७७, बिहीबार १२:५१