एमालेले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । नेकपा (एमाल)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिनुभएको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो ।

उहाँले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गर्नुभयो ।

यसैबीच, निर्वाचन आयोगले शुक्रबार (आज)दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएको बताउनुभयो ।

उहाँले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानूनी व्यवस्था भएको पनि स्पष्ट पार्नुभयो ।

प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताउनुभयो ।

सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ ।

निर्वाचनको सोही मितिलाई मध्यनजर राखेर तयारीको कामलाई अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार १४:५४