सिटी पुनः प्रिमियरको शीर्षस्थानमा उक्लियो

एजेन्सी : म्यानचेस्टर सिटी प्रिमियर लिग अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ । क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै सिटी लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लेको हो । सिटीको जितमा २ गोल रहिम स्टर्लिङ र गाब्रियल जिससले १ गोल गरे । १५ औं मिनेटमा स्टर्लिङले पहिलो गोल गरे भने अर्को गोल ६३ औं मिनेटमा गरे ।

८१ औं मिनेटमा लुका मिलिभोजेभिकले घरेलु टोलीका लागि गोल गर्दै अन्तरलाई घटाएका थिए । तर, अन्तिम मिनेटमा जिससले गोल गर्दै सिटीको जित पक्का गरे । ३३ खेलपछि सिटीको ८३ अंक पुगेको छ । दोस्रो स्थानको लिभरपुलको ८२ अंक छ । आजै लिभरपुलले चेल्सीलाई हराउन सके टोली पुनः शीर्षस्थानमा उक्लनेछ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार २१:५१