अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा चाईनिज ताईपेसंग नेपालको बराबरी

काठमाडौं: विश्वकप छनोटको तयारीमा रहेको नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फिफा वरियतामा आफूभन्दा ३६ स्थान माथिको चाईनिज ताईपेसँग १-१ गोलको बराबरी खेलेको छ ।

चाईनिज ताईपेको मैदानमा सुरुवाती गोलको अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । पहिलो हाफमा १-०ले पछि परेको नेपालले दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट बराबरी गोल फर्किएको थियो ।

खेलको ४० औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए  भने खेलको ६९ औं मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काए ।

सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले गोल गरेका हुन् । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल हो ।पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन् ।

अभिषेकले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । उक्त खेल नेपालले २-० ले गुमाएको थियो ।

 


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार १९:०२