कोरोना पीडितको लागि एकजुट भएर सहयोगमा जुट्न उपेन्द्र महत्तोको अपिल

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले कोरोना पीडितको लागि गैर आवासीय नेपालीहरुले खेलेको भूमीकाप्रति प्रशंसा गर्नुभएको छ । महत्तोले विपत्तिमा गैर आवासीय नेपाली संघले उदाहरणीय कार्य गरिरहेको भन्दै अझै दिल खोलेर सहयोगी हात अगाडि बढाउन सबैमा अपिल समेत गर्नुभएको छ ।

एनआरएनएलाई एक भिडियो सन्देश दिनुहुँदै भन्नुभएको छ, ‘जसले जती सक्नुहुन्छ सहयोगको लागि हात अगाडि बढाइदिनु होला, यतिखेर सबैलाई सहयोग आवश्यक परेको छ, सकेसम्म अप्ठ्यारो परेको ब्यक्तीलाई सहयोग गर्नुपर्छ भन्ने भावना मनमा लिइदिनुहोला ।’

महत्तोले अहिलेको समय अती नै कष्टकर, जटिल, अप्ठयारो स्थितिमा गुज्रीरहेको बताउँदै यो बेला सबै एकजुट भएर कोरोना विरुद्धको लडाइ लड्नुपर्ने बताउनुभयो । सारा संसार नै एक भएर लड्नुको विकल्प नभएको भन्दै महत्तोले यतिखेर पनि को सानो को ठूलो, को शत्रु को मित्र भनेर छुट्याइएमा कोरोनालाई जित्न नसक्ने भएकाले सबै एक हुनुपर्ने सन्देश प्रवाह गर्नुभएको हो ।

यतिबेला सकारात्मक सोच, विचार र सकारात्मक भावना लिएर काम गर्नुपर्ने भन्दै महत्तोले आर्थिक रुपमा अलिकती भए पनि दान गर्नुपर्छ भन्ने मान्यता सबैले राख्नुपर्नेमा जोड दिनुभयो ।

गैैर आवासीय नेपाली संघ (एनआरएनए ) राष्टिय समन्वय परिषद्ले समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आर्थिक संकलनमा लागिरहेको भन्दै सबैप्रति आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो ।


प्रकाशित | १६ बैशाख २०७७, मंगलवार १२:१८