नेपालमा एकैदिन थपीए १४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं: नेपालमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।  मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन्।

उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवनमा २७ वर्षका पुरुष र ६३ वर्षीया महिलामा कोरोना भाइरस देखिएको हो।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि उदयपुरका १२ जनाको विराटनगरस्थित कोशी अस्पताल र चितवनका २ जनाको चितवनमा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको थियो।

त्यसपछि थप परीक्षणका लागि टेकुमा पठाइएको थियो। टेकुमा परीक्षणका क्रममा पनि सबैको पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले उनीहरुका विषयमा जानकारी सार्वजनिक गरेको हो।


प्रकाशित | ५ बैशाख २०७७, शुक्रबार २१:०६