‘तपाईंको झैँ मेरो लकडाउन’

-जीवा लामीछाने

केही दिनअघि नेपाल म्यागजिनका सम्पादकले म्यासेज गर्नुभयो, ‘बाह्रखरीमा अन्तर्दृष्टि पुस्तकमाथि तपाईंको समीक्षा पढेँ ।’

‘कस्तो लाग्यो ?’ पाठक भेटेपछि लेखक मन हतारिनु स्वाभाविक थियो ।

‘राम्रो । खासमा मलाई पनि एउटा लेख चाहियो ।’

अघिल्लो सन्देशको जवाफ जति छिटो फर्काएको थिएँ, यो पटक फर्काउन सकिनँ । म्यासेन्जर बक्समा हेरिरहेँ ।

‘यो साताका लागि तपाईंको लकडाउन अनुभूति चाहियो । यो पटक फुर्सद भएन भनेर टार्न पाउनुहुन्न । जे भोगिरहनु भएको छ, त्यही कुरा लेख्नु होला ।’

माछा मार्नेलाई थाहा हुन्छ, कसरी माछो जालमा आउँछ । मलाई लाग्छ, सम्पादकहरू कुशल माझी हुन्, जसले मजस्ता अल्छी लेखकहरूलाई कसरी समाउनु पर्छ भन्ने थाहा हुन्छ । बसन्तजीले पनि त्यसैगरी समात्नु भयो । फुर्सद छैन भन्न पनि नपाइने । र, लेख्ने विषय छैन भन्न पनि नपाइने । जे गरिरहनु भएको छ, त्यही लेखिदिनुस् भनेपछि बोल्न सक्ने अवस्था नै रहेन ।

तर भोगेका कुरा लेख्नु कति कठिन छ भन्ने कुरा स्वयं बसन्तजीलाई नै थाहा होला । संसारमा जति भोगिन्छ, त्यति लेखिएका नै कहाँ छन् र ! त्यही बेला प्रश्न गरूँझैँ लाग्यो, भोगिएका सबै कुरा यो संसारमा लेखिएको भए आज यो महामारीमा कति कुरा साभार गरेर नेपाल म्यागजिनलाई भरिभराउ बनाउनुहुन्थ्यो होला । इतिहासले भन्छ, संसारमा हरेक सय वर्षमा यस्ता महामारी आएका थिए । लाखौँ मानिसले अकल्पनीय जीवन बाँचे । हरेक मानिसले आँखैअघि आफ्ना प्यारा मान्छे गुमाए । एउटा लामो श्वास तान्दा पनि त्यसबाट ज्यान लैजाने किटाणु शरीरमा प्रवेश गर्ला भनेर फारो गरेर श्वास लिनु पर्थ्यो । प्रत्येक पल्ट श्वासप्रश्वासमा यस पटकको श्वासमा पक्कै पनि मेरो शरीरमा किटाणु प्रवेश गर्‍यो होला भन्ने त्रासद मनस्थिति कस्तो हुन्थ्यो होला ? यस्ता कति अनुभूति समयसँगै हराएर गए । मानिसले उसका सबै अनुभूतिहरू कहाँ लेख्न सक्दो रहेछ र !

मैले बसन्तजीलाई लेख्छु भन्न सकिनँ । यसो–उसो भनेर टारिदिएँ । यस कारण होइन कि मलाई लेख्न अल्छी लाग्यो । फेसबुकमा लेखिरहने मानिसलाई जे अनुभूति छ, त्यही कुरा लेख्न त्यति गाह्रो विषय पनि होइन । तर के लेख्ने ? लकडाउनमा अरुको भन्दा फरक अनुभूति मेरो छैन । त्यो हुने कुरा पनि भएन । उही घरभित्र बस्यो, कहिले पुस्तक पढ्यो, कहिले सिनेमा हेर्‍यो अनि कहिले सामाजिक सञ्जालमा अल्झिएर बस्यो । लेख्नुपर्ने कुरा नयाँ के नै हुन्छ र, बसन्तजी ? तपाईं आफैँले दिनभरिको कुरा लेख्न खोज्नुभयो भने के लेख्नुहुन्छ ? त्यही सिनेमा हेरेको कुरा, त्यही किताब पढेको कुरा र त्यही फेसबुक र ट्वीटरमा आएका कुरा । बसन्तजी, संसार कति साँघुरियो भने यहाँ नयाँ अनुभूति नै कहाँ छन् र !

पर्सिपल्ट पुन: बसन्तजीको म्यासेज आयो । उहाँले लेख्नुभयो, ‘मेरो लेख कहिले आउँछ ? कति पुर्‍याउनु भयो ?

दोस्रो सन्देश पढेपछि लाग्यो– सम्पादकहरू गतिला जोताहा पनि हुन् । हलो जोत्दै गर्दा कतातिरको गोरु लोसे हुँदै छ, उनीहरूले थाहा पाउँछन् ।

‘एक दिनभरिको कुरा लेखे हुन्छ, जे भोगेको त्यही लेख्नु न । यो साता भ्याइनँ भन्न पाउनु हुन्न ।’

मैले जवाफ दिइनँ । म्यासेज बक्समा बसन्तजीका अक्षरहरू पुन: हल्लिरहे । टालटुले जवाफबाहेक मसँग केही छैन । राती सुत्ने बेलामा बसन्तजीका लागि होइन, आफूले आफैँलाई सोचेँ । साँच्चै म आफ्नो दिन कसरी बिताइरहेको छु ? बितेको एक महिना म कसरी आफूलाई ढालिरहेको छु । के म पनि फगत यो महामारी कहिले सकिन्छ भनेर आउँदो दिनको प्रतीक्षा गरिरहेको छु ? यो बीचमा मैले के सिकेँ ? भोलि बन्दाबन्दीको अवस्था सकिएर बजार निस्किएको दिन मेरो जीवनमा के परिवर्तन हुन्छ ?

अहिले मानिस जे छ, ऊ त्यही हो । दिनभरि उसले जे गरिरहेको छ, जे सोचिरहेको छ, त्यही नै उसको वास्तविकता हो । त्यसो भए मैले के सिकेँ, के गरेँ, यो पनि महत्त्वपूर्ण कुरा हो र ? त्यसो भए आज विहानदेखि मैले के गरेँ, फर्केर हेर्दा कस्तो देखिएला ? सोच्न रमाइलो लाग्यो ।

००००

आज बिहान अबेर उठेँ । कडा कालो कफी मेरो बिहानको प्यारो अम्बल हो । तर कप समाउनुअघि मलाई आफ्नो हातको सम्झना आयो । उठेदेखि यी हातले दस ठाउँमा छोइसकेका छन् । यही हात त हो, जो घरी मुखमा पुग्छ, घरी आँखा मिच्छ । हिजो राती मिचिमिची धोएर सुते पनि अहिले यो बिटुलो भइसकेको छ । आफ्नै हात यति छिटोछिटो फोहोर भइसकेको हुन्छ भन्ने यसअघि कहिल्यै याद गरेको थिइनँ ।

घरमै बसिरहँदा हात धोइरहनु जरुरी छैन भन्ने पनि थाहा छ तर मन न हो । कप समाउनुअघि म हात धुने ठाउँमा पुगेँ । हामीलाई बाआमाले सानैदेखि बिहानै हातमुख धोएर मात्र भान्सामा छिर्न दिनुहुन्थ्यो । भान्सा कोठा र पूजा कोठा यस्ता ठाउँ थिए, जहाँ ननुहाइ छिर्न वर्जित थियो । विद्यालय पढ्दै गर्दा सफाइलाई धर्मसँग होइन, स्वास्थसँग जोडियो । तर हात धुने तरिका भने कति कच्चा रहेछ भन्ने बल्ल यो उमेरमा थाहा हुँदै छ । कतिसम्म भने सार्वजनिक शौचालय जाँदा मैले कतिपय अवस्थामा अरुलाई देखाउनैका लागि यसो पानीमा हात देखाएको छु, अरुले हात नधोई हिँड्यो भन्लान् कि भन्ने डरले ।

हातका सबै भागलाई मिचिमिची धुनु जीवनमा अरु काम गरे जत्तिकै महत्त्वपूर्ण भएको बल्ल बुझियो, यसका लागि कोरोनाको कहर नै कुर्नुपर्‍यो । केही दिनयता त्यसलाई जीवनको अंग बनाएको छु । आज पनि पूरा समय लगाएर हात धोएपछि मात्र मैले आफ्नो कफी कपलाई हात लगाएँ ।

००००

कफी खाँदै गर्दा नेपालतिर आँखा डुलाएँ । अचेल मोबाइलमा नेपाल छ, अमेरिका छ र जर्मनी पनि छ । संसार अटाएको छ । संसार चिहाउन दु:ख गर्नै पर्दैन । नेपालमा मजदुरहरूले दु:ख पाएको समाचार आइरहेका छन् । जर्मनी कोरोना संक्रमित मुलुकमध्ये सातौँ स्थानमा छ तर पनि यहाँ नेपालमा जस्तो पूरै बन्दाबन्दी छैन । अत्यावश्यक सेवा प्रदान गर्ने निकायहरू सक्रिय छन् । तर कोरोनाको संक्रमण हुने स्थानहरू छानेर बन्द गरिएका छन् । त्यसमा मानिससँग प्रत्यक्ष सम्पर्कमा रहने सबै किसिमको व्यवसाय, रेस्टुरेन्ट, सार्वजनिक यातायात र सेवा ठप्प छन् । सरकारद्वारा जारी नीति नियमलाई नागरिकहरूले पालना गरेकै देखिएको छ ।

कफी खाएर म बाल्कोनीतिर लागेँ । मेरो घरअगाडि ‘रेब्स्टोक’ नामक पार्क छ । सामान्य अवस्थामा यो पार्कमा साँझ बिहान निकै भीड हुने गर्थ्यो । लकडाउन यता यहाँ मानिसहरू फाट्टफुट्ट निस्केका छन् । सरकारले जारी गरेको बढीमा दुई जना मात्र हिँड्न पाउने नियमलाई पार्कमा पनि पूर्ण रूपमा पालना गरिएको छ । सडकमा एकाध गाडी चलेका छन् । केही पर ग्रोसरी पसल ‘रेवे’ देखिन्छ, जसलाई १२ घन्टा खोल्नुपर्ने नियम छ । नेपालमा बिहान ६ देखि ९ बजेसम्म मात्र किनमेल गर्न पाइने नियमका कारण जुन भीड देखिन्छ, त्यो सायद यही १२ घन्टा खुला हुने कारणले छैन । विक्रेताहरू सबै संयमित र व्यवस्थित देखिन्छन् । ग्राहक र पसले दुवैले हातमा पञ्जा लगाएका देखिन्छन् । पैसा तिर्नका लागि साढे एक मिटरको दूरी कायम राखेर काउन्टरमा लाइन लागेका छन् । नेपालमा भने सामान किन्नेहरूको भीड देख्दा नै कोरोना संक्रमण हुने खालका दृश्यहरू सामाजिक सञ्जालमा आइरहेका छन् । यो महामारीसँग लड्न प्रत्येक मानिसले गर्न सक्ने योगदान भनेकै अहिले एकान्तवास हो । आजको दिनसम्म पनि यसको अरु भरपर्दो निदान देखिएको छैन ।

यत्तिका दिन बितिसक्दा पनि नेपाल, भारतसहित दक्षिण एसियाली मुलुकहरूमा बन्दाबन्दीको अवज्ञा गर्नेहरूलाई प्रहरीले लाठी चार्ज गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा देख्छु । चीनमा सरकारको आदेशलाई पूर्ण पालना गरेकैले त्यहाँ यसलाई नियन्त्रण गर्न सफल भयो । साम्यवादी व्यवस्थाको सबल पक्ष सायद यही हो, आफ्ना नागरिकलाई अप्ठ्यारो अवस्थामा अनुशासनमा राख्न सक्नु । यो कुरा सोभियत संघमा मैले आफ्नै आँखाअघि देखेँ, भोगेँ ।

बाँकी संसार पूरै बन्द छ । यस्तो लाग्छ, संसार अहिले टक्क अडिएको छ । पुराणमा विभिन्न कालमा प्रलय भएको कुरा पढिएको थियो, अहिले प्रलय भनेको यस्तै हो कि भन्ने लाग्छ ।
००००

चितवनमा आमालाई फोन गरेँ । हरेक दिन आमालाई फोन गर्नु मेरो दिनचर्या भएको छ । आमालाई आफ्नोभन्दा हाम्रो चिन्ता बढी छ । हरेक आमाहरूको नियति नै हो, परदेसिएका आफ्ना सन्तानको चिन्तामा दिन बिताउनु । उहाँ सोध्नुहुन्छ, ‘अब कति दिन यस्तो बन्दाबन्दी चल्छ । यो महामारी कहिले जान्छ ?’ उहाँलाई यो समस्या चाँडै सकिन्छ भनेर आश्वासन दिन्छु । तर फोन राखेपछि थाहा पाउँछु, के मलाई साँच्चै नै थाहा छ यो समस्या छिट्टै समाधान हुन्छ भनेर ? आफैँ फिस्स हाँस्छु । भविष्य थाहा नपाउनुको आनन्द के हो भने यसलाई आफूअनुकूल कल्पना गर्न पाइन्छ । निराश हुनु छ भने यो समस्या अनन्त कालसम्म रहला र सबै बर्बाद होला भनेर कल्पना गर्न सक्छु । होइन, आशावादी हुनु छ भने यो समस्या केही दिनमै हटेर जाला भनेर कल्पना गर्न सक्छु । समयले मलाई पनि दुईमध्ये एउटा कुरा सोच्ने मौका दिएको छ । धन्य, मेरो मनले सकारात्मक नै सोचिरहेको छ ।

त्यसपछि धमाधम ८–१० जना साथी, इस्टमित्रलाई फोन लगाउँछु । समय मिलाएर प्रत्येक दिन ८–१० जना साथीभाइलाई सम्झने र त्यहाँको हालखबर, सन्चो बिसन्चो बुझ्ने मेरो दिनचर्या नै हो । यसलाई आजभोलि अलि बाक्लो बनाएको मात्रै हो ।

००००

दिनभरि घर बस्दा समय बढी भएर समयलाई नै गाली गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन भन्नेमा म सचेत छु । फुर्सद हुँदा मलाई मनपर्ने दुई काम हुन्, पुस्तक पढ्नु र फिल्म हेर्नु । त्यसका लागि प्रत्येक दिन कम्तीमा एउटा कलात्मक सिनेमा हेर्ने तालिका बनाएको छु । पुस्तकका कुरा पछि गर्छु किनभने आज पहिले सिनेमा हेर्ने योजना बनाएको थिएँ । सुरुमा दिनको एउटा फिल्म हेर्ने गरेको थिएँ तर केही दिन फिल्म हेर्ने बेग बढिरहेको छ । अस्ति त एकै दिन चार वटा पुराना हिन्दी फिल्म काबुलीवाला, आग, बर्सातकी रात र मनोज बाजपेयीको एउटा लगातार हेरेँ । रातभरि–रातभरि सिनेमा हेर्ने गरेका दिनहरूको सम्झना भयो, यो बेला । लगातार फिल्म हेर्दा बीचबीचमा उठेर फ्रेस हुने र खाजा खानेबाहेक अरु केही पनि गरिनँ । यो सोखले गरेको नभई एउटा प्रयोगजस्तै थियो, आफ्ना लागि । आफूलाई मन परेको चार वटा फिल्म हेर्दा पनि मनमा उस्तै ताजापन थियो । अहिले पनि चलचित्रप्रति मेरो रुचि घटेको रहेनछ र समय मिल्दा पुराना दिनमा फर्कन सकिने रहेछ भन्ने महसुस भएको छ ।

तर आज एउटा मात्र सिनेमा हेरेँ– सतरञ्ज के खिलाडी । यो मैले धेरै मन पराएको फिल्ममध्ये एक हो । आजभोलि मलाई यो फिल्म पटकपटक हेर्न मन लाग्नुको कारण भने सामाजिक सञ्जालको कथासँग मिल्दोजुल्दो भएर हो । प्रसिद्ध साहित्यकार प्रेमचन्दको कथामा आधारित सतरंज के खिलाडीले लखनउका नवाफ वाजिद अलि शाहले राज्य गुमाउनुको अन्तर्य बडो मार्मिक शैलीले पस्केको छ ।

त्यो बेलाको सम्पन्न राज्य मानिने अवधको राजधानी लखनउ थियो । सम्पन्न भएका कारण त्यहाँका राजा, मन्त्रीहरू आमोद–प्रमोदमा मस्त थिए । यही क्रममा माथिल्लो तहमा चेस खेल भित्रियो । चेस खेल्ने मानिस बुद्धिमान हुन्छन् भन्ने सोच हाबी थियो । त्यसैले राजा र मन्त्रीहरू दिनभर–रात अबेरसम्म पनि चेस खेलिबस्थे । राजा र मन्त्रीले यो खेललाई महत्त्व दिएपछि सेना प्रमुखदेखि बाहिनी प्रमुखसम्मले यसैमा आफ्नो लत बसाए । यो खेलमा उनीहरू यति चुर्लुम्म डुबे कि अंग्रेजले राज्य हत्याएको पत्तै पाएनन् ।

आज सबै मानिस सामाजिक सञ्जालमा यसरी रमाएका छन् कि यसबाहेक अर्को पनि संसार छ भन्ने धेरैले बिर्सिसके । कतिसम्म भने त्यही स्मार्ट फोनको प्रयोग गरेर धेरै कुरा प्राप्त गर्न सकिन्छ भन्ने ज्ञानलाई पनि मानिसहरूले बिर्सिसके । सतरंजके खिलाडी जतिजति हेर्छु, सामाजिक सञ्जालले मानिसको आयु निलिरहेको महसुस गर्छु ।

आज यो फिल्म हेर्नुको उद्देश्यचाहिँ यसमा निहित विषयलाई सामाजिक सञ्जालसँग तुलना गर्नु थियो । अहिले त यी सञ्जालहरूमा कोरोना भाइरससम्बन्धी यति धेरै सन्देश, अडियो, भिडियो, समाचार, क्यारिकेचर र बीभत्स दृश्य आउँछन् कि यसबाट कहाँ भागूँजस्तो लाग्छ । कुनै–कुनै ग्रुप त दिनभरि नै यस्तै सन्देश मात्रै पठाउने काममा व्यस्त छन् ।

०००००

फिल्म हेर्दै गर्दा अमेजनमार्फत मगाएका पुस्तकहरूको दोस्रो खेप आइपुग्यो । कोरोना कहरको एउटा फाइदा पुस्तक पढ्ने बानीको पुनर्आगमन हो । पहिले पढेका र नयाँ गरी यो बीचमा झन्डै १ दर्जनजति पुस्तक पढेँ । पढेका केही पुस्तकका ससाना टिप्पणीहरू सामाजिक सञ्जालमा सेयर पनि गरेको छु । पहिले मोटा किताव पनि पढ्थेँ, अहिले भने त्यो धैर्य गुमेको अनुभव हुन थालेको छ ।

आज भने क्याथी ओ’निलको विपन्स अफ म्याथ डिस्ट्रक्सन पढेँ । चलनचल्तीमा डब्लुएमडी भन्नाले आम विनाशकारी हातहतियार भन्ने बुझिन्छ । यस्ता हतियार मानव जातिका लागि निकै खतरनाक हुने भएकाले शक्ति राष्ट्रहरू आफूबाहेक यस्ता हतियार अरुसँग नरहून् भनेर निकै सजग हुने गर्छन् । यस्ता कुरामा उनीहरू कति सचेत छन् भन्ने कुरा आणविक हतियार हुँदै नभएको देशमा समेत डब्लुएमडी जम्मा गरेको आरोपमा एउटा देश नै तहसनहस पारेको घटना हाम्रोसामु ताजै छ ।

विपन्स अफ म्याथ डिस्ट्रक्सनमा लेखक क्याथी ओ’निलले शक्तिशाली राष्ट्रहरूसँग भएका डेटाहरु पनि त्यति नै खतरानाक भएको दाबी गरेकी छन् । लेखिकासँग गणितको विशद अध्ययन छ । वालस्ट्रिटमा काम गरेको अनुभवका आधारमा उनले डेटाहरू कसरी म्यानिपुलेट गरिन्छन् भन्ने कुराका उदाहरणहरू दिएकाले पनि उनको दाबी सत्यको नजिक लाग्छ ।

डेटा दुरुपयोगका कारण आर्थर अन्डर्सन र एनरोनजस्ता विशाल दुई कम्पनी ढलेको धेरै भएको छैन । यो अल्गोरिथ्म र बिगडेटाको युग हो । कम्पनी सञ्चालनमा व्यवसायी र राज्यको अभिभारा वहन गर्दा सरकार डेटामै निर्भर रहन्छ । डेटाबिनाको संसार कस्तो होला, आजको दिनमा यो कल्पनातीत छ । यो पुस्तक पढ्दै गर्दा मलाई डेटाको दुरुपयोग र हेराफेरीको तर्क एवं उदाहरणहरूले छक्क पारिरह्यो ।

००००

यति गर्दा साँझ पर्‍यो । यो समय केही व्यवसायी साथीहरूसँग कुरा गर्ने समय हो । उद्योगधन्दा, सेवा व्यवसाय सबै बन्द छन्, अहिले । कामदारलाई तलब खुवाउन सबैलाई सकस छ । सबै चिन्तित छन् । मचाहिँ किताब पढेर र सिनेमा हेरेर बसेको सुन्दा उनीहरू केही आश्चर्य पनि मान्छन् । भाइ, साथीहरू भन्छन्– ‘हैन, तपाईँलाई चिन्ता लागेको छैन ?’ चिन्ता नलागेको त कहाँ हो र ? पहिले पो एकातिर समस्या भए अर्काेतिरबाट त्यसलाई थेगौँला भन्ने हुन्थ्यो । अहिले त चारैतिर कोहोराम मच्चिरहेको छ । यस्तो बेला के नै गर्न सकिन्छ ? समस्या समाधान हुने भए चिन्ता लिनु पनि हुन्थ्यो । बरु यो समयमा समस्याग्रस्त अन्य साथीभाइलाई आफूले सक्दो सहयोग गरेर मन बुझाउनुबाहेक अर्को विकल्प छैन ।

मनलाई र अरुलाई सुनाउन मसँग राम्रो उपाय छ । भन्ने गरेको छु, ‘समयले वर्षौंवर्ष भागदौड गरायो । अहिले मज्जाले लेखपढ गर्ने समय हात लागेको छ । मन परेका सुन्दर सिनेमा हेर्ने अवसर जुराएको छ । यसैका लागि यो समय आएको पनि हुन सक्छ ।’

००००

बसन्तजी, आज एक दिनका केही कुरा मैले यसरी उतारेँ । तपाईंले लेख भन्नुभयो, मैले लेखिदिएँ । यो गन्थन पाठकका लागि कति सकसपूर्ण हुन्छ भन्ने मलाई थाहा छ । छाप्नलायक नभए पनि तपाईं अब छाप्न बाध्य हुनुहुनेछ । आखिर तपाईंले अह्राएर म लेख्न बसेको हुँ । यसमा सिर्जनात्मक कुरा केही छैन ।

निजी गन्थनमा अल्मल्याएकोमा मेरा प्रिय पाठकहरूसँग भने म क्षमा माग्छु ।

साभार : नेपाल म्यागजिन


प्रकाशित | ५ बैशाख २०७७, शुक्रबार १६:४०