अस्ट्रेलियामा विद्यार्थीलाई राहत वितरण तीब्र, एक्स्पर्टद्धारा २ लाख अस्ट्रेलियन डलरको कोष स्थापना

सिड्नी : अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई राहत वितरण कार्य तीब्र पारिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियासहित सयौ नेपाली संघसंस्थाको सहयोगमा कोरोनाको कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई राहत वितरण कार्य तीब्र पारिएको हो ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलका अनुसार विभिन्न राज्यमा राहत वितरण कार्य तीब्र बनाउने क्रम जारी राखिएको छ । अहिलेसम्म अस्ट्रेलियामा समस्यामा परेका ३ सय ५० भन्दा बढी विद्यार्थीलाई राहत वितरण गरिसकिएको छ । विद्यार्थीलाई अत्यावश्यक चामल, नुन, तेल, मसलालगायतको सामाग्री सहयोग गर्ने कार्यलाई तीब्रता दिइएको हो ।

एनआरएनए अस्ट्रेलियाले विशेष गरि ८ ओटै राज्यमा समस्यामा परेका नेपाली विद्यार्थीको तथ्यांक संकलन गर्दै राहत वितरण अभियान थालेको थियो । अध्यक्ष कडेलका अनुसार अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरु एक भएर सकेको ठाउँमा सहयोगमा जुटिरहनु भएको छ ।

एनआरएनएसँग समन्वय गरेर विभिन्न संघसंस्थाहरु विपत्तीको बेलामा एकजुट भएकोमा खुसी ब्यक्त गर्नुहुँदै अध्यक्ष कँडेलले नेपाली राजदूतावासलाई समेत समस्यामा परेका नेपालीको सहयोगमा दबाब दिने कार्य गरिरहेको बताउनुभयो ।

अध्यक्ष कँडेलले नयाँ वर्षको शुभकामना समेत ब्यक्त गर्नुहुँदै सबै नेपाली समुदायलाई एकजुट भएर सकेको ठाउँमा सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।

त्यस्तै, अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको ‘कोभिड -१९  एक्स्पर्ट सहयोग कोष स्थापना’ गरेको छ ।

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले बिद्यार्थीहरुको रोजगारीमा असर परेको यथार्थलाई मध्यनजर गर्दै २ लाख लडरको सहयोग कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले भनेको छ, ‘संस्था मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु प्रति हाम्रो पहिलो दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै यो कोषबाट एक लाख पचास हजार अस्ट्रेलियन डलर उहाँहरुको सहयोगका लागि छुट्याइएको छ ।’

अन्य अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी पचास हजार अस्ट्रेलियन डलर छुट्याइएको जनाइएको छ ।

एनआरएनए अस्ट्रेलिया अध्यक्ष कँडेलले एक्स्पर्ट एजुकेशनले कोष खडा गरेजस्तै अन्य विभिन्न संघसंस्थालाई पनि कोष खडा गरि सहयोग गर्न आग्रह गरिरहेको जानकारी गराउनुभयो ।


प्रकाशित | ३० चैत्र २०७६, आईतवार १६:३८