गणेश केसीको कोरोना महामारी बारे अष्ट्रेलिया अनुभव र सन्देश

अष्ट्रेलियाले २ लाख ७० हजार भन्दा बढिको कोरोना परीक्षण गरिसकेको छ ।  संसारमै धेरै टेष्ट गर्ने योजना सरकारले बनाएको छ । साथै १५ मिनेटमा कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरिसकेको छ । धेरै भन्दा धेरै आइसियू र भेन्टिलेटरको ब्यवस्था मिलाएको छ । धेरै भन्दा धेरै डाक्टर अनी नर्सहरुको परिचालन गरेको छ । रिटायर्ड भएका डाक्टर र नर्सहरुलाई फेरि काम शूरु गर्न अनुरोध गरेको छ । अष्ट्रेलिया सरकारले यो महामारीमा जनताको दुखमा प्रत्यक्ष साथ दिन युद्धस्तरमा काम गरिरहेको छ ।

-गणेश केसी

चीनको हुवान प्रान्तबाट शूरु भएको कोरोना भाइरस आज महामारीको रुपमा विश्वका २०४ देशमा फैलिसकेको छ । यो महामारीबाट १० लाखभन्दा बढि मानिसहरुमा यसको लक्षण देखा परिसकेको छ भने मर्नेको संख्या ५३ हजार भन्दा बढि नाघिसकेको छ । यो महामारीबाट आज अष्ट्रेलिया पनि अछुतो रहन सकेको छैन । आजको मितीसम्ममा अष्ट्रेलियामा ५ हजार ३ सय १४ मानिसहरुमा यसको लक्षण देखा परिसकेको छ भने मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

नेपाली विद्यार्थीहरुको पहिलो रोजाईको रुपमा रहेको अष्ट्रेलियामा एक लाख ६५ हजार भन्दा बढि नेपालीहरु बसोबास गरिरहेका छन् । जसमध्ये ५७ हजार भन्दा बढि विद्यार्थी भिसामा रहेको अनुमान छ भने २४ हजार भन्दा बढि अभिभावक र पर्यटक भिसामा छन् । स्वभावीक रुपमा यो महामारीबाट नेपालीहरु पनि प्रभावीत भएका छन् । जसमा नौ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । चार जनालाई निको भइसकेको छ । सयौंको संख्या भन्दा बढि नेपाली संघसंस्थाहरु एनआरएनए अष्ट्रेलिया सँग हातेमालो गर्दै सहयोगी मनहरुलाई अगाडि बढाइरहेका छन् ।

यहाँका नेपाली संघसंस्थाहरु समेत विद्यार्थी, अभिभावक र दुखमा परेका हरेक नेपालीहरुको सहयोगका लागि काम गरिरहेका छन् । एनआरएनए अष्ट्रेलियाले यो समयमा निकै नै उल्लेखनीय र सराहनीय काम गरेको छ । अप्ठ्यारोमा परेका विद्यार्थीहरुको सहयोगमा काम गरिरहेको छ ।

देश जतिसुकै विकसित वा आर्थिक रुपमा सम्पन्न भए पनि यो महामारीको रुपमा फैलिएको अदृश्य भाइरस सँग लड्न निकै कठिन समयमा पनि अष्ट्रेलिया सरकारले निकै नै सावधानी र युद्ध स्तरमा काम गरेको यहाँका जनताहरुले महसुस गरिरहेका छन् ।

हरेक घन्टा घन्टामा जनताहरुलाई कसरी सहयोग गर्ने भनेर यहाँको सरकारले विशेष ध्यान दिने गरेको छ । आफनो देशमा छरिएर रहेका आफना जनताहरुलाई आफनो देशमा आउँन अनुरोध गरेको छ । देशमा फिर्ता हुनको लागि प्लेनको पनि ब्यवस्था मिलाएको छ र उनीहरु अष्ट्रेलियामा आइसकेपछि अनिवार्य रुपमा १५ दिन क्वारेन्टाइनमा फ्रि बस्ने ब्यवस्था सरकारले नै मिलाएर होटलमा राख्दै आएको छ ।

अष्ट्रेलियाले २ लाख ७० हजार भन्दा बढिको टेष्ट गरिसकेको छ । संसारमै धेरै टेष्ट गर्ने योजना सरकारले बनाएको छ । साथै १५ मिनेटमा कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरिसकेको छ । धेरै भन्दा धेरै आइसियू र भेन्टीलेटरको ब्यवस्था मिलाएको छ । धेरै भन्दा धेरै डाक्टर अनी नर्सहरुको परिचालन गरेको छ । रिटायर्ड भएका डाक्टर र नर्सहरुलाई फेरि काममा शूरु गर्न अनुरोध गरेर अगाडि बढिरहेको छ । अष्ट्रेलिया सरकारले यो महामारीको स्थितिमा कसरी जनताको दुखमा प्रत्यक्ष साथ दिएर अगाडि बढ्ने भनेर युद्धस्तरमा काम गरिरहेको छ ।

यतीबेला देश विकसित वा देशमा आर्थिक सम्मृद्धि भयो भने जनतालाई के हुँदो रहेछ भन्ने धेरै नजिकबाट बुझने अवसर हामी गैर आवासीय नेपालीहरुले पाइरहेका छौ । अष्ट्रेलियामा यो महामारीबाट प्रत्यक्ष असर परेका ६० लाख भन्दा धेरै कामदारहरुलाई र धेरै ब्यवसायीहरुलाई ६ महिनाको अवधिसम्म प्रति १५ दिनमा १५ सय अष्ट्रेलियन डलरको भुक्तानी राहत प्याकेजको ब्यवस्था मिलाइएको छ । यो प्याकेजले गर्दा जनताले ठूलो राहत र सरकारलाई आफनै अभिभावकको महशुस गरिरहेका छन् ।

संसारका विभिन्न देशहरुले पूरै वा आंशिक लकडाउनको नीति अपनाइरहेको पाइन्छ । जसमा अष्ट्रेलियाले आंशिक लकडाउनको नीति अपनाएको छ । अष्ट्रेलियाले आंशिक लकडाउन गर्नुकोे पछाडिको कारण के भने देशको अर्थतन्त्रलाई पूर्ण रुपमा बन्द नगरिकन कोरोना महामारी विरुद्धको लडाई सफल बनाउनु हो । सरकारले देशको हरेक क्षेत्रलाई जोगाउन तथा आर्थिक स्थितीलाई कमजोर हुन नदिन यहाँ शैक्षिक संस्था, विश्वविद्यालय, हस्पिटल, चाईल्ड केयर, बैंकिङ, यातायात, टे«न, सपिङ सेन्टर अति आवश्यक कुराहरु पूर्ण रुपमा खोलीएको छ । यी सबै आंशिक रुपमा खोलीए पनि विद्यार्थीहरुलाई विश्वविद्यालयले अनलाईन पढाईमा जोड दिएको छ ।

साथै सोसल डिस्ट्यान्सलाई डेढ मिटरको नीति लिएको छ । साथै यो नीतिलाई निकै कडाईको साथ पालना गरिएको छ । दुई जनाभन्दा बढि सँगै हिड्न नपाईनुका साथै पार्टि, भोज, गुप्र मिटिङ, समूहमा दूई जना भन्दा बढि सँगै हिड्न नपाइने, अती आवश्यक काम, एक्सरसाइज, सपीङमा जान बाहेक जो पायो त्यो काममा जान नपाउने कडा नियम बनाएको छ ।

सरकारले प्रत्येक घन्टा घन्टामा देशका प्रधानमन्त्री, मन्त्रीहरुले, राज्य सरकारले टेलिभिजनको माध्यमबाट कोरोनाको अपडेटको जानकारी दिने गरेको छ । ६५ वर्ष भन्दा बढि उमेरका मानिसहरुलाई बाहिर निस्कन निकै कडाई गरिएको छ । उनीहरुलाई अन्य अत्यावश्यक सामानहरु घरमै ल्याइदिने गरिन्छ । जे जस्तो भए पनि जताहरुमा स्टे होम को नीतलाई ब्यापक रुपमा जोड दिइएको छ । जे भए पनि वर्तमान समयमा हामी जहाँ बसे पनि अति नै सर्तकताका साथ अति नै संयम भएर काम गर्नु परेको छ । आफू बाँचेर अरुलाई पनि बचाउन सहयोग गर्नुपर्ने कठिन संकट छ ।

हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुले कर्म भूमीमा भएका सबैलाई एकजुट भएर यो विषम परिस्थितिमा एक आपसमा सहयोगको भावना जगाऔं र जन्म भूमी प्रति सहयोगी भावनाका साथ एकजुट भएर सक्दो सहयोग गरौ । धन्यवाद ।

                                                            लेखक केसी गैर आवासीय नेपाली संघ (अष्ट्रेलिया) को पूर्व अध्यक्ष हुनुहुन्छ ।


प्रकाशित | २१ चैत्र २०७६, शुक्रबार १६:३१