कोरोना महामारी बारे रामप्रताप थापाको जर्मनी अनुभव र नेपालले सिक्नैपर्ने पाठ

जर्मनीले विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी कोरोना परिक्षण गरिसकेको छ । यहाँ पहिचान नभएका संक्रमित थोरै छन् । लगभग सबैजसो बिरामी पहिचान भइसकेको र क्वारेन्टाइनमा राखिएको छ । यसले संख्या बढी देखिए पनि खतराको जोखिम घटाएको छ । एक त जनताहरु घरभित्रै बस्ने र यो रोग फैलन नदिने एउटा उपाय छदै छ अर्को घरभित्रै रहेका जनताहरुमा को- को संक्रमीत छन भन्दै कोरोना परीक्षण ब्यापक बनाउँदा छिट्टै नियन्त्रणमा ल्याउन सकिने रहेछ । संक्रमीतको संख्या हेर्दा र मृत्यदरलाई हेर्दा जर्मनीबाट के सिक्न सकिन्छ भने यहाँको सरकारले असाध्यै धेरै धनराशी खर्च गरेर जनतालाई बचाउन सघर्ष गरिरहेको छ भन्ने हो । छिटोभन्दा छिटो कोरोना परीक्षण गराउँदा  वा केहि लक्षण देखिनासाथ उपचार गराउँदा धेरैलाई बचाउन सकिने रहेछ भन्ने उदाहरण पनि हो यो ।

– रामप्रताप थापा

विश्वभरि कोरोनाले महामारीको रुप लिएसँगै जर्मनी पनि त्यसबाट अछुतो रहन सकेको छैन । यूरोपका इटाली, स्पेन जस्तो अवस्था जर्मनीमा नभए पनि महामारीले जर्मनी पनि नराम्ररी प्रभावीत भएको छ । विशेष गरि यूरोपका विभिन्न मुलुकहरु इटाली, स्पेनमा यसले महामारीको रुप नै लिइरहेको छ । बेलायतमा पनि त्यस्तै अवस्था छ । यूरोपकै फान्समा पनि भित्र भित्रै महामारीको रुप लिइरहेको देखिन्छ । यद्यपी तुलनात्मक रुपमा जर्मनी सुरक्षीत छ । यूरोपले स्वास्थ्य नीतिलाई प्राथमिकता नदिनु र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्दाको परिणाम अहिले भोग्नुपरिरहेको छ । जस्तो, बेलायतले पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको थिएन जसले गर्दा त्यहाँका जनताहरु कोरोना संक्रमीतबाट प्रभावीत भइरहेका छन् । कोरोनाले अमेरिकामा झनै डरलाग्दो ढंगले महामारीको रुप लिइरहेको देखिन्छ भने अन्य विकसित मुलुकहरु अस्ट्रेलिया, क्यानडाले ठूलो पूँजी खर्च गरेर कोरोना भाइरस विरुद्ध लडिरहेको अवस्था छ ।

कोरोना महामारीबाट जर्मनीमा रहेका नेपाली पनि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावीत भएका छन् । कोरोनाले गर्दा लामो समयदेखि यहाँ रहेका नेपाली पनि घरभित्रै सुरक्षीत बसेका छन् । यहाँ सरकारी स्वास्थ्य सेवा राम्रो छ । कुनै समस्या आइहाल्यो भने पनि सरकारले सबै उपचार ब्यहोर्ने भएकाले खासै समस्या देखिन्न । नेपालबाट अध्ययन गर्न आएका विद्यार्थी, अन्य नेपालीहरु समेत सुरक्षीत रहेको पाइएको छ । यहाँ सबै नागरिकलाई स्वास्थ्य बिमा गरिएको छ । संसारको सबैभन्दा राम्रो स्वास्थ्य सेवा भएको मुलुक नै जर्मनी हो । इन्सुरेन्स अनीवार्य भएकाले स्वास्थ्य सम्बन्धी सबै सुविधा सरकारले ब्यर्होछ । कोही विरामी भइहाल्यो भने हस्पिटल जान जरुरी छैन । घरमै आएर डाक्टरले सुविधा प्रदान गर्छ । त्यसैले जर्मनीमा रहेका नेपाली अन्य देशको तुलनामा सुरक्षीत छन् । साथै यहाँ गैर आवासीय नेपाली संघले समेत कोरोना प्रभावीत नेपालीहरुलाई विभिन्न किसिमको सहयोग प्रदान गर्दै आएको छ । यतिखेर एनआरएनएले निकै राम्रो, सराहनीय कार्य गरेको छ । त्यसैले जर्मनीमा नेपालीको अवस्था राम्रो छ ।

नेपाल लकडाउन भएजस्तै जर्मनी पनि औपचारिक रुपमा लकडाउनमा छ । यहाँको सरकारले कोरोना महामारी रोक्न ठूलो धनराशी खर्च गरिरहेको छ । विशेष गरि मुलुकको अर्थतन्त्रलाई डुम्न नदिन ठूलो प्रयास गरेको देखिन्छ । कोरोना महामारी समाल्नै नसक्ने अवस्था आएमा के कसरी ब्यवस्थापन गर्ने ? भनेर धेरै खालका पूर्व तयारी भएका छन् । जनता पनि मुलुकको अर्थतन्त्र प्रती र कोरोना रोकथाममा सचेत छन् । सरकारले लकडाउन नै नगर्दा समेत जनताहरु घरभित्रै बसेका थिए र अहिले पनि घरभित्रै बसीरहेका छन् । यहाँ सरकारी नियम पूर्ण पालना भएको छ । अत्यावश्यक कामबाहेक २ जनाभन्दा बढी हिड्नेलाई यहाँ प्रति ब्यक्ती २ सय यूरो जरिवाना गर्दै लकडाउनलाई कडा बनाइएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रणको लागि सबै पक्षबाट प्रयास भइरहेको छ । जनताहरु आफै सचेत भएको कारण पनि यहाँ महामारीको रुप लिइसकेको छैन । यो रोगबाट बच्न तथा सावधानीको एउटै उपाय घरभित्रै बस्ने र दूरी कायम गर्ने भएकाले जनता त्यसप्रति पूर्ण सचेत छन जसले नयाँ ब्यक्तीहरुमा यो संक्रमण हुन पाएको छैन ।

जर्मनीको तुलनामा युरोपेली मुलुक इटालीको मृत्युदर ११ प्रतिशत छ । इटालीजस्ता केही मुलुकमा असाध्यै धेरै लक्षण देखिएका बिरामीको मात्र परीक्षण गरिन्छ, जबकि जर्मनीले व्यापक परीक्षणको नीति लिएको छ, संख्या मात्र गन्ने हो भने जर्मनी संसारमै पाँचौ बढी संक्रमित मुलुक हो । तर, यहाँ पहिचान नभएका संक्रमित थोरै छन् । लगभग सबैजसो बिरामी पहिचान भइसकेको र क्वारेन्टाइनमा राखिएको छ । यसले संख्या बढी देखिए पनि खतराको जोखिम घटाएको छ । अन्य देशको तुलनामा संक्रमीतको मृत्यृदर असाध्यै कम हुनुको कारण नै यही हो ।
अन्य धेरैजसो मुलुकले व्यापक रूपमा परीक्षण गर्न सकिरहेका छैन् जसले गर्दा कोरोना संक्रमीत भएको लामो समयसम्म उपचार नपाएर ज्यान गुमाउनु परेको देखिन्छ । यहाँ स्थानीय स्वास्थ्य संस्थाहरू स्वतन्त्र ढंगले काम गर्छन् । निजी कम्पनीले पनि परि आएका बेला परीक्षण ‘किट’ जस्ता अत्यावश्यक वस्तु व्यापक उत्पादन गरिरहेका छन् ।

कोरोना नियन्त्रण गर्ने भनेको घरभित्रै बस्ने र धेरैभन्दा धेरै जनतामा कोरोना परीक्षण गरेर मात्र सम्भव हुने रहेछ । जस्तो, दक्षिण कोरियाले धेरै भन्दा धेरै जनताहरुमा कोरोना परीक्षण गरेर कोरोना संक्रमीत र अन्य जनतालाई सेपरेसन गर्दै कोरोना नियन्त्रणमा सफल भयो । त्यस्तैगरि, जर्मनीले पनि मलाई लाग्छ, विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी कोरोना परिक्षण गरिसकेको छ । एक त जनताहरु घरभित्रै बस्ने र यो रोग फैलन नदिने एउटा उपाय छदै छ अर्को घरभित्रै रहेका जनताहरुमा को- को संक्रमीत छन भन्दै कोरोना परीक्षण ब्यापक बनाउँदा छिट्टै नियन्त्रणमा ल्याउने सकिने रहेछ । संक्रमीतको संख्या हेर्दा र मृत्यदरलाई हेर्दा जर्मनीबाट के सिक्न सकिन्छ भने यहाँको सरकारले असाध्यै धेरै धनराशी खर्च गरेर जनतालाई बचाउन सघर्ष गरिरहेको छ भन्ने हो । छिटोभन्दा छिटो कोरोना परीक्षण गराउँदा कोरोना संक्रमीतको संख्या धेरै देखिए पनि संक्रमण भएको छोटो समय वा केहि लक्षण देखिनासाथ उपचार गराउँदा धेरैलाई बचाउन सकिने रहेछ भन्ने उदाहरण पनि हो यो । जर्मनी आफैले ४५ मिनेटमै कोरोना परीक्षण गर्न सकिने टेष्ट किटस उत्पादन गर्दै कोरोना नियन्त्रणमा ल्याउन प्रयासरत छ । यहाँ सरकारले चालेको कदम निकै सराहनीय र स्वागतयोग्य छ । यहाँको स्वास्थ्य रणनीति र कोरोनासँग लड्न सक्ने क्षमता कती रहेछ भन्ने प्रमाण मृत्युदर असाध्यै कम हुनु पनि हो । यहाँको सरकारले गनुपर्ने काम केहि बाँकि नराखेको, अन्य देशबाट पाठ सिकेको, कोरोना सम्भावीत ब्यक्तीहरुलाई खोजीखोजी कोरोना परीक्षण गराएको, जनताहरु घरभित्रै बसेर सरकारलाई सहयोग गर्दै कोरोना फैलन नदिएको जस्ता विविध कारण यहाँ कोरोनाले महामारीको रुप नलिएको हो ।

यहाँका जनताहरु यती सचेत छन् कि प्रहरीले नेपालमा जस्तो लाठी चार्ज गरेर लकडाउन गर्नुपर्ने अवस्था छैन । नेपालमा आन्दोलनको जसरी प्रहरी राखेर कारवाही गर्दै लकडाउन गर्नु राम्रो पक्ष होइन । यसको बारेमा जनताहरु आफै सचेत हुनुपर्छ । कोरोनाले सिकाएकोे सबैभन्दा ठूलो कुरा के भने आत्मनिर्भर ठूलो चिज रहेछ । जस्तो, जर्मनी हरेक क्षेत्रमा आत्मनिर्भर नभएको भए सायद कोरोना नियन्त्रणमा यो तहसम्म सफल नहुन पनि सक्थ्यो । नेपालमा हेर्नुस त सबै चीज विदेशबाट खरिद गर्नुपर्छ केहि उत्पादन छैन, विदेशबाट सामान नआउँने बित्तिकै भोकभोकै मर्नुपर्ने अवस्था छ । त्यसैले कोरोनाबाट सिक्नैपर्ने पाठ भनेको आत्मनिर्भर बन्नु पर्ने रहेछ भन्ने पनि एक हो ।

भलौ सरकारले बेलैमा बुद्धि पुर्याएर लकडाउन गर्दा नेपालमा कोरोना भाइरस फैलन पाएन । यदी यहाँको अवस्था आएको भए त नेपालले थेक्नै नसक्ने रहेछ तर केहि छिटफुट ब्यक्तीमा देखिदा नेपालले नियन्त्रणमा ल्याउने सक्ने देखिन्छ । अझै यो स्थिती कती चल्ने हो भन्ने कसैलाई थाहा छैन । त्यसैले कोरोना नियन्त्रणको लागि सरकारले बेलैमा धेरैभन्दा धेरै जनतामा कोरोना परीक्षणलाई ब्यापक बनाउँदै जर्मनीले गरेजस्तै  परीक्षण गराएको खण्डमा नेपालमा कोरोना फैलनबाट जोगाउन सकिन्छ । अर्को कुरा अनुशासन पनि हो । यो भाइरसलाई हेलचेक्रयाई, लापरवाही नगरी, सरकारी नियमको पालना गरेर इमानदारीताका साथ घरभित्रै बसेको खण्डमा यो फैलन पाउँदैन । यो रोग सर्ने भनेकै अन्य ब्यक्तीसँग धेरै भन्दा धेरै सम्पर्क गर्नाले नै हो । त्यसकारण  स्थिति नियन्त्रणमा नआऊनजेलसम्म घरभित्रै सुरक्षीत भएर बस्ने र आवश्यक सुरक्षा सावधानी अपनाएर सरकारलाई सहयोग गर्नुको विकल्प छैन ।

साथै यो विपत्तिको बेला भनेको सक्नेले आफनो ठाउँबाट सहयोग गर्न पनि जरुरी देख्छु । मैले पनि आफूले सकेको ठाउँबाट धादिङ जिल्लाको थाक्रे गाउँपालीका ३ वडा भूमिचुली डाडा गाउँका ज्यालादारी मजदूरी गर्ने ५८ घरपरिवारलाई राहत सहयोग गरेको छु । प्रति घरपरिवार एक बोरा चाहाल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, हात धुने साबुनलगायत सामान वितरण भइसकेको छ । संसारको जुन ठाउँमा बसे पनि सकेको सहयोग गर्दै घरभित्रै बसेर आफू पनि बाँच्दै अरुलाई बचाउन सहयोग गर्नुहोला गर्नुहोला भन्न चाहान्छु । धन्यवाद ।

विश्व सन्देशको लागि प्रधान-सम्पादक किरण बुढाथोकीले नेपाल सरकारको तर्फबाट जर्मनीका महावाणिज्यदूत तथा गैर आवासीय नेपाली संघ(एनआरएनए ) संरक्षक राम प्रताप थापासँग गर्नुभएको कुराकानीमा आधारित


प्रकाशित | २० चैत्र २०७६, बिहीबार १७:५२