नेपालमा पाँचौ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि

काठमाडौं : नेपालमा पाँचौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट १७ मार्च अर्थात् चैत ४ गते नेपाल आएकी १९ वर्षीय ती महिला कोरोना भाइरस संक्रमीत भएको पुष्टि भएको हो ।

ती महिला काठमाण्डौ बाहिरकी रहेकी र चिकित्सकको सम्पर्कमा आएर उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी गराउनुभयो ।

नेपालमा पहिलो सङ्क्रमित व्यक्ति चीनको वुहानबाट नेपाल आएका विद्यार्थी थिए भने दोस्रो सङ्क्रमण फ्रान्समा अध्ययनरत १९ वर्षीय विद्यार्थी थिइन । उनी कतार एअरवेजबाट नेपाल आएकी थिइन ।

तेस्रो सङ्क्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष थिए भने चौथो व्यक्ति २० मार्चमा भिस्टारा एअरबाट दिल्लीबाट नेपाल आइपुगेका थिए। दिल्लीमा दुबईबाट इमिरेट्सको उडानबाट आएका उनी धनगढीमा उपचाररत छन्।

अहिलेसम्म कोरोना संक्रमीत पाँच मध्ये चीनबाट आएका एक जना भने निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ ।


प्रकाशित | १५ चैत्र २०७६, शनिबार १७:३३