जेलभित्र रोनाल्डिन्होको ‘वर्थ डे’ सेलिब्रेसन

एजेन्सी :  ब्राजिली लिजेण्ड रोनाल्डिन्होले जेलभित्र ४० औं जन्मदिन मनाएका छन् । नक्कली पासपोर्टको अभियोगमा पाराग्वेको जेलमा रहेका रोनाल्डिन्होले जेलभित्र जन्मदिन मनाएका हुन् ।

जेलभित्र रहेका रोनाल्डिन्होलाई रोनाल्डो र रोबर्टो कार्लोसले जन्मदिनको शुभकामना दिएका छन् । पाराग्वेको जेलभित्र कठिन समय बिताईरहेका रोनाल्डिन्होले भने ईन्स्टाग्राममा राम्रो सन्देश प्राप्त गरेका छन् ।

४३ बर्षका रोनाल्डोले फोटो सहित पोस्ट गरेका छन्, ‘बधाई छ साथी, तिमी चाँडै जिवनको कठिन अवस्थाबाट फर्कने छौ ।’ ४६ बर्षका कार्लोसले संगै खेलेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘तिमीलाई धेरै शुभकामना छ साथी ।’

रोनाल्डिन्होसंग बार्सिलोनाबाट खेलेको स्यामुयल ईटोले भविष्यका लागि शुभकामना दिदै लेखेका छन्, ‘सोच्न सकेको छैन, तिम्रो मनले के सोचिरहेको छ ।’

उनले भनेका छन्, ‘हेलो साथी, मसंग केही शब्द छैन । के बोल्ने भन्ने मलाई थाहा छैन । हामी सोचिरहेका छौ, कसरी तिमीमा उत्साह भर्न सक्छौ भनेर ।’ रोनाल्डिन्होले ४० औं जन्मदिन जेल भित्र एक्लै मनाएका छन् ।

उनले २६ औं जन्म दिन बार्सिलोनाको नाईट क्लबमा बिहान ६ बजेसम्म मनाएका थिए । यस्तै, ३२ औ जन्मदिन दसौ हजार पाउण्ड खर्च गरेर ब्राजिलको महङ्गो होटलमा मनाएका थिए ।


प्रकाशित | ९ चैत्र २०७६, आईतवार १७:२३